२ तिहाईको कम्युनिष्ट सरकार इतिहासकै सबैभन्दा भ्रष्टः काँग्रेस नेता गुरुङ्ग

२०७६ बैशाख ७,शनिबार १५:४१

मकवानपुर ७ वैशाख । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् प्रखरवक्ता धनराज गुरुङले अहिलेको २ तिहाईको कम्युनिष्ट सरकार इतिहासकै सबैभन्दा भ्रष्ट रहेको टिप्पणी गरेका छन् ।

काँग्रेस ४ नम्बर क्षेत्रीय समितिको सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले अहिलेको कम्युनिस्ट सरकार लाउडा, बुढी गण्डकी, फोरजीलगायतका काण्डमा अरबौँ रकम भ्रष्टाचारमा मुछिएको समेत उनले बताए ।

२ तिहाईको सरकार जनताको रगत पसिना चुसेर पनि अझै हत्याहिंसा, महंगी र चरम भ्रष्टाचारमा मुछिरहेकोले ५ वर्षसम्म पनि टिक्न मुस्किल रहेको उनले बताए ।

त्यस्तै विशिष्ट अतिथि कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर पार्टी सभापति इन्द्रबहादुर बानियाँले अहिलेको कम्युनिष्ट सरकारले गरेको चरम भ्रष्टाचार, महंगीलगायतका विषयहरु जनताले जान्न पाउने अधिकार भएकाले काँग्रेस अब देशैभरी जागरण अभियान लिएर गाउँगाउँ जाने बताए ।

विशिष्ट अतिथि बानियाँले कम्युनिष्ट सरकार विमान खरिददेखि नुन खरिदसम्म र सरकारी जग्गा हडप्नेदेखि जनप्रतिनिधिहरु जनताले खाने पानीको पाईप खरिदसम्ममा भ्रष्टाचारमा लिप्तहरु बिरुद्ध गाउँ जागरण अभियान मार्फत भण्डाफोरमा उत्रन कार्यकर्तालाई निर्देशन दिए ।
कांग्रेस ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तानको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।