छविलाल कोपिलाको कविता – कविताहरू

२०७६ बैशाख ७,शनिबार १५:५९

उहिले-उहिले कविता
राजा, महाराजाहरूले सुन्थे
र, उनीहरूलाई सुनाइन्थ्याे
अर्थात कविता
उनीहरूकै लागि लेखिन्थे ।

कविताकाे सार भाव
राजा उठाइन्थ्याे र महाराजा बसाइन्थ्याे
कवितामा उनीहरूकै भक्तिभाव लेखिन्थे
उनीहरूकै गुनगान लेखिन्थे
र लेखिन्थे उनीहरूकै मान-सम्मान ।

कविहरू,
महाराजाहरूका चरण छुँदै
उत्रिन्थे मेहफिलमा
र, सुनाउँथे मदिराका कविता
उत्तेजनाका कविता
अनि कामुक याैनका कविता
मेहफिल वाह ! वाह !!
र, तालीकाे गडगडाहटले गुञ्जायमान हुन्थ्याे
कविहरू महाराजाहरूका जुनाफबाट
उपहार लिएर फर्किन्थे ।

समयले महाराजाहरूका कविता
महाराजहरूमा रुपन्तरण गरिदियाे
जसाे जसाे महाराजाहरूले गरे
त्यसै त्यसै महाराजहरू पनि गर्न थालेपछि
अचेल कविताहरू
जनताका कुरा बाेल्न थालेका छन्
उत्पीडन र मुक्तिका कुरा बाेल्न थालेका छन्
बिद्रोह र न्यायका कुराहरू बाेल्न थालेका छन् ।

यसरी कविताहरू
निरङ्शताकाे बिरुद्ध बाेल्न थालेपछि
भ्रष्टाचार, दलाली बिरुद्ध बाेल्न थालेपछि
लुट, अपहरण, बलात्कारका बिरुद्ध बाेल्न थालेपछि
महाराजा र महाराजहरूमा निद लाग्न छाेडेकाे छ
खाना पच्न छाेडेकाे छ
र, एक निद सुत्ने अभिलाषाका साथ महाराजहरू
धमाधम कविहरूलाई गिरफ्तार गर्नथालेका छन्
कविताहरूलाई बन्दी बनाउन थालेका छन् ।

– २०७६ बैशाख ४ गते