२५ मिटर कि १६ – अन्यौलमा पर्यो संरचना भत्काएर बाटो बढाउने काम

२०७६ बैशाख ७,शनिबार १५:२०

मकवानपुर ७ वैशाख । पूर्वपश्चिम राजमार्गको हेटौंडा बजारक्षेत्रमा पर्ने सडक विस्तारको काम टुंगोमा पुग्न सकेको छैन ।

प्रचलित कानून अनुसार, सडकको मध्य विन्दुबाट २५/२५ मिटर विस्तार गर्नुपर्ने भएपनि प्रदेश नं ३ मन्त्रीपरिषद्ले १६/१६ मिटरमात्रै विस्तार गर्न सिफारिस गरेपछि यो विषयमा निश्कर्षमा पुग्न नसकेको हो । प्रचलित नियम अनुसार भटाभट सडक विस्तारको जिम्मेवारी अनुसार काम गर्न निर्देशन दिनुपर्नेमा प्रदेश मन्त्रीपरिषद्ले नै यो विषयमा अन्यौलको अवस्था बनाइदिएको छ ।

सडक कार्यालय पनि यो विषय टुंगोमा पुग्न समय लाग्ने जानकारी दिएको छ । प्रचलनमा रहेको ऐन अनुसार काम गर्न आवश्यक वातावरण बनाइदिनुपर्नेमा झनै अन्यौल बनाउने काम भएकोमा चिन्ता व्यक्त गर्नेहरु धेरै छन् । दिनभरिको जामले सर्वसाधारण हैरान भएका छन् भने सडक विस्तारको कार्य तत्काल सुरु गर्न दवाव बढिरहेको छ ।

डिभिजन सडक कार्यालयका सूचना अधिकारी जयराम अधिकारीका अनुसार संघीय सरकारले ऐन संशोधन गर्छ वा २५ मिटरनै विस्तारको लागि आदेश दिन्छ, हामी आदेश अनुसार चल्ने हो । उनले भने तत्काल त्यस्तो केही निर्देशन आएको छैन ।

साघुँरो सडकका कारण सवारी व्यवस्थापनमा समस्या देखिएको छ । पार्किङ व्यवस्थापन झनै असहज देखिएको छ ।

हेटौंडावासी २५ मिटरनै सडक विस्तार हुनुपर्ने बताउँदै आएका छन् ।