कैलाश गाउँपालिका : ३९ मा ५ मात्रै कर्मचारी, काम अलपत्र

२०७६ बैशाख ७,शनिबार १२:२५

मकवानपुर ७ वैशाख । मकवानपुरको कैलाश गाउँपालिकामा कर्मचारी अभावका कारण सेवाग्राहीका काम अलपत्र भएको छ । जेनतेन दैनिक कामकाज चलााइरहेको गाउँपालिकाको भनाइ छ ।

जम्मा ३९ जना कर्मचारी दरवन्दी आवश्यक रहेकोमा गाउँपालिका र वडा कार्यालयहरुमा समेत गरी जम्मा ५ जना कर्मचारी रहेका छन्  । गाउँपालिकामा १० वटा वडा छन् । सबै वडा कार्यालयहरुमा समेत वडा सचिव
छैनन् ।

कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानका अनुसार वडा नम्वर ५ र १० मा मात्रै सचिव छन् बाँकी वडामा स्वास्थ्यका कर्मचारी पठाएर जेनतेन काम संचालन गरिएको छ ।

प्रदेश सरकार र केन्द्र सरकारसंग कर्मचारी व्यवस्थापन मिलाईदिन आग्रह गर्दा समेत केही हुन
नसकेको उनले बताए ।

उनले भने ‘ कर्मचारी नहुँदा, सेवाग्राहीका फाईल पल्टाउन पनि सकिएको छैन । अनि योजनाको काम र विकास निर्माणका काम केही पनि हुन सकेका छैनन् । ’

प्रशासनिक रुपमा काम गर्ने कर्मचारी पनि गाउँपालिकामा छैनन् ।

गाउँपालिका अध्यक्ष मोक्तानका अनुसार आफूहरुले आवश्यकता पूरा गर्नको लागि करारमै कर्मचारी नियुक्त गरौँ भनेपनि स्रोत व्यवस्थापनमा कठिनाई रहेको छ।

प्रदेशमा कर्मचारी पदस्थापन भएको कारण गाउँपालिकामा यस्तो समस्या देखिएको उनको बताए ।

कर्मचारीको व्यवस्थापन हुन नसक्दा काम गर्नै सकस भएको उनले वताएका छन् । छिटोभन्दा छिटो कर्मचारीको समस्या समाधान गर्न उनले आग्रह गरेका छन् ।