प्रहरीद्वारा १० जना पक्राउ, आवश्यक अनुसन्धान हुँदै

२०७६ बैशाख ५,बिहीबार १९:१३

मकवानपुर, ०५ वैशाख । प्रहरीले विभिन्न घटनामा संलग्न रहेको आरोपमा १० जनालाई पक्रउ गरेको छ । पक्राउ पर्ने सबै चोरी कार्यमा संलग्न रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सर्लाहीबाट ३ जना, काठमाडौँबाट १ जना, भक्तपुरबाट १ जना र धनुषाबाट ५ जना गरी १० जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्ने सबैमाथि थप अनुसन्धान भइरहेको छ ।

 

लालबन्दी नगरपालिका- ५ रंजितपुर बस्ने ५६ वर्षीय बिज बहादुर गोले लगायत ३ जनालाई अवैध लागूऔषध गाँजा करिब ३५ केजी सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा घरभित्र लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

सुन सहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अवैध रुपमा संकलन गरिरहेको करिव १ सय ४९ ग्रामको सुनको बाला ३ थान सहित सर्लाही सुन्दरपुर गाउँपालिका- ४ घर भएका शेष सरफास्जालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

बिमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियामा उक्त परिमाणको सुन संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।

स्कुटर चोरी गर्ने पक्राउ 

बा. ५७ प ५४५२ नम्बरको स्कुटर चोरी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका- २ दुवाकोट बस्ने रोशन दुलाललाई प्रहरीले पक्राउ गरेको छ ।

गत बैशाख २ गते भक्तपुर बोडेबाट उक्त स्कुटर चोरी भएको घटनामा संलग्न अभियुक्तको खोजी गर्ने क्रममा महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले मध्यपुर ठिमी नगरपालिका- २ बाट उनलाई उक्त स्कुटर सहित फेला पारी पक्राउ गरेको हो ।

मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ 

धनुषा जिल्लाका बिभिन्न स्थानहरुबाट बिभिन्न मिति र समयमा हराएका मोटरसाइकलहरु सहित मोटरसाइकल चोरीमा संम्लग्न ५ जनालाई बिभिन्न मिति र समयमा पक्राउ गरी धनुषा प्रहरीले हिजो सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा धनुषा जनकपुर उपमहानगरपालिका- ११ का असलम राईन, सोही उपमहानगरपालिका- ४ का दिप कुमार महतो, सोही उपमहानगरपालिका-७ का संजिव कुमार साह, सोही उपमहानगरपालिका- १ का अरविन्द कुमार साह र हसिबुल नदाफ रहेका छन् ।

उनीहरुलाई चोरी गरेको ज.९ प ४६१८, ज.१ प ८२ ९५, ना. ३५ प ५९२०, बा. ७८ प ११८४, ज.१३ प १५१७ र ज.११ प ६०८९ नम्बरको मोटरसाइकल सहित फेला पारी पक्राउ गरिएको हो ।

धनुषाका बिभिन्न स्थानहरुबाट मोटरसाइकल हराएको जनगुनासो तथा उजुरी बढेपछि जिल्ला प्रहरी कार्यालय धनुषा र मातहतका प्रहरी कार्यालयहरुबाट छुट्टाछुट्टै रुपमा परिचालित प्रहरी टोलीले उनीहरुलाई बिभिन्न स्थानबाट चोरी गरिएका मोटरसाइकल सहित फेला पारी पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेकाहरुलाई चोरी शीर्षक मुद्दामा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।