कोलखोपका शिक्षक यादवसंगको सेटिङमा प्रहरीले पीडित शिक्षिकाको बकपत्र बुझेन

२०७६ बैशाख ३,मंगलवार १५:२९

मकवानपुर ३ वैशाख । मकवानपुरको बकैया गाउँपालिकास्थित ईलाका प्रहरी कार्यालय ठिँगनले कोलखोप प्राविका शिक्षक यादवसंगको सेटिङमा पीडित महिलाको बकपत्र नबुझेको खुलेको छ ।  बकैया गाउँपालिका १२ मा रहेको कोलखोप प्राविका महेन्द्र प्रसाद यादवले एक शिक्षिकामाथी बलात्कारको प्रयास गरेको भन्दै पीडित शिक्षिकाले फागुन दोस्रो साता जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएकी थिईन् ।

उनको उजुरी उपर जिल्ला प्रहरी कार्यालय मकवानपुरले बकपत्र बुझाउन गत चैत्र २९ गतेलाई तोकेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले २९ गते अगाबै पीडित शिक्षिकालाई जानकारी दिनुभनी ईलाका प्रहरी कार्यालय ठिँगनलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । तर ठिँगन प्रहरीले पीडित शिक्षिकालाई २९ गते फोन सम्पर्क गरी २०७६ साल बैसाख ३ गते बकपत्र बुझाउनको लागि जानकारी गरायो । पीडित महिला वैशाख ३ गते आज बकपत्र बोकेर ईलाका प्रहरी पुग्दा उनलाई एक प्रहरी अधिकारीले बकपत्र बुझाउने समय सकियो, किन ढिला गरेको भन्दै हप्काए अनि बकपत्र फिर्ता गराए ।

पीडित महिलाले तु खबरसंग आफुलाई अन्याय भएको भन्दै गुनासो गरेपछि तु खबरले ईलाका प्रहरी कार्यालय ठिँगनका सही अशोक यादवलाई जिज्ञासा राखेको थियो । यादवले आफुहरुको गल्तीका कारण महिलाले बकपत्र बुझाउन नपाएको स्वकार गरे । चाँडैनै उनको बकपत्र बुझ्ने प्रतिक्रिया समेत दिए ।

जिल्ला प्रहरीको आदेश विपरित ईलाकाले शिक्षक यादवसंगको सेटिङमा बकपत्र नबुझेको स्रोत बताउँछ । स्रोतका अनुसार शिक्षक यादव यसअधि पनि यौनजन्य केसमा पटक – पटक परेका छन् ।। उनका केही केसहरु स्थानीय स्तरमानै मिलाईएको छ । यसपटक पनि यादवले घटना गुपचुप पार्न खोजेका थिए तर पीडित महिलाले जिल्ला प्रहरीमा उजुरी दिएपछि घटनाले ठूलो रुप लिएको स्रोतको जानकारी छ ।

स्रोतका अनुसार प्रहरी सही अशोक यादवले शिक्षक महेन्द्र प्रसाद यादवसंग घूस बुझेर उनको संरक्षण गर्न खोजिरहेका छन् । शिक्षक यादवको संरक्षणमा स्थानीय बकैया गाउँपालिका वडा नमबर १२ का अध्यक्ष रामबहादुर मोक्तानले पनि कसरत गरिरहेको स्रोत बताउँछ । अध्यक्ष मोक्तानसंग प्रतिक्रिया लिन खोज्दा उनीसंग फोनसम्पर्क हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी यज्ञप्रसाद भट्टराईका अनुसार शिक्षक यादवलाई प्रहरीले केहीदिन हिरासदमा राखी अहिले हिरासद मुक्त गरेको छ । उनले सही यादवले गलत गरेको फेला परेमा कारबाही हुने समेत बताए ।