जिल्लास्तरीय दौड प्रतियोगितामा मिजार प्रथम

२०७६, १ बैशाख आईतवार १३:१२

मकवानपुर १ वैशाख । नेपाल तरुण दल हेटौँडा ६ नम्बर वडा इकाईले गरेको जिल्लास्तरीय खुल्ला दौड प्रतियोगितामा सन्जिव मिजार प्रथम भएका छन् । दौडमा निर्धारित ५ किलोमिटरको दुरी १६ मिनेट ११ सेकेण्डमा पार गर्दै मिजार प्रथम भएका हुन् । दौडमा १७ मिनेट १ सेकण्डमा दुरी पार गर्दै सागर लामा दोस्रो र १७ मिनेट ४१ सेकेण्डमा दुरी पार गर्दै शरण थिङ तेस्रो भए । १७ मिनेट ५२ सेकेण्डमा दुरी पार गर्दै देवेन्द्र ढकाल चौथो र १७ मिनेट ५३ सेकेण्डमा दुरी पार गरी सविन व्लोन पाँचौ भए ।
प्रथम हुनेले नगद १५ हजार, दोस्रो हुनेले नगद १० हजार र तेस्रो हुनेले नगद ५ हजार रुपैँयासहित शिल्ड र मेडल प्राप्त गरे भने चौथोले नगद २ हजार रुपैँया र पाँचौ हुनेले नगद १ हजार रुपैँया प्राप्त गरे ।

विजयी खेलाडिहरुलाई कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं जिल्ला सभापति ईन्द्रबहादुर बानियाँ, निवर्तमान सभापति रघुरमण न्यौपाने, जिल्ला सचिव बुद्ध लामा, प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, सल्लाहकार रिता खनाल लगायतले पुरस्कार प्रदान गरेका थिए ।

तरुण दल हेटौँडा ६ नम्बर इकाई अध्यक्ष एवं वडा सदस्य राजकुमार बास्तोलाको सभाध्यक्षतामा भएको कार्यक्रममा नगर सभापति आनन्दराम पराजुली, कांग्रेस ६ नम्बर इकाई अध्यक्ष रामहरी तिमल्सिना, नेता होमनाथ गौतम, तरुण नेता राजेश भेटवाल इकाई सचिव भरत सापकोटा लगाएतको उपस्थिति रहेको थियो ।

तरुण दलले बर्षेनी गर्दै आएको दौडमा यसपटक मकवानपुरका ३५ जना धावकको सहभागिता रहेको थियो । दौडको पुरस्कार र शुभकामना आदानप्रदान कार्यक्रमका लागि स्थानीय संघसंस्था र समाजसेवीले आर्थिक सहयोग गरेका थिए ।