हेटौँडाको सडक विस्तार प्रकरण : २५/२५ मिटर कि १६/१६ ?

२०७६ बैशाख १,आईतवार १०:०४

मकवानपुर १ वैशाख । पूर्व पश्चिम राजमार्ग तथा त्रिभुवन लोकपथ अन्र्तगतको हेटौँडा बजार क्षेत्रमा सडक विस्तारको काम अहिले अन्यौलमा परेको छ । सडक ऐन अनुसार पनि राजमार्गको दुवैतर्फ २५/२५ मिटरनै सडक विस्तार गर्नुपर्ने हो । तर मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नं. ३ मन्त्रीपरिषद्को बैठकबाटै १६/१६ मिटर मात्र भत्काउनु पर्ने भनेर केन्द्र सरकारलाई सिफारिस गरिदिएर अन्यौल बनाइदिएका छन् ।

भएका अन्यौल हटाउँदै निश्कर्षमा पुग्नुपर्नेमा मुख्यमन्त्री पौडेलले झनै समस्याको सुरुवात गरिदिएका छन् । मौजुदा कानूनको आधारमा राजमार्गको दायँबायाँ २५/२५ मिटर भत्काउनु पर्ने र देशैभरि सोही अनुसारनै सडक विस्तार भएको छ । हेटौँडाको लागिमात्र प्रचलित ऐननै संशोधन गर्न पर्ने गरी अन्यौल बनाइदिएका छन् ।

प्रचतिल प्रावधान विपरित उनले १६/१६ मिटरको रटान दिएपछि अब २५ मिटरनै भत्किन्छ कि हेटौँडाको हकमा छुट्टै निर्णय हुन्छ त्यो भने टुंगिन बाँकी छ । तर, देशै भरि प्रचलनमा रहेको सडक ऐन अनुसार नै काम भएको छ । हेटौँडाको हकमा मात्र छुट्टै कानून बनाउने हो भने त्यो कानूनी शासन र कानून सबैको लागि बराबर भन्ने सिद्धान्तको पनि विपरित हुन जान्छ ।

पौडेलले १६ मिटर विस्तार गर्ने भन्दै सडक फराकिलो पार्ने कामलाई अल्झाईदिएका छन् ।

सडक विस्तार नहुँदा अहिले बजार क्षेत्रमा सवारी जाम र ट्राफिक व्यवस्थापनमा पनि समस्या देखिएको छ । २५ मिटरनै सडक विस्तार गर्नुपर्ने स्थानीयको माग पनि छ । तर बस्तीको बीचमा राजमार्ग नहुनेभन्दै मुख्यमन्त्री पौडेलले सडक विस्तार १६ मिटरमात्रै गर्नेगरी संघीय सरकारलाई सिफारिस गरेका छन् । त्यसो त उनले २५ मिटर सडकक्षेत्रभित्र पर्ने आफ्नै घर पनि भत्काएका छैनन् ।

गत फागुन ७ गते रेडियो थाहा सञ्चारको वार्षिक उत्सव कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले दुनियाँले आफुलाई विकास विरोधी भनेको भन्दै पहिला आफ्नै घर भत्काउने बताएका थिए । उनले त्यतिवेला आफ्नै पहलमा सडक फराकिलो पार्ने काम रोकेको समेत बताएका थिए । प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्ड पनि १६ मिटरकै पक्षमा रहेको भन्दै आफ्नो पहलमा सडक फराकिलो पार्ने काम रोकेको बताएका थिए ।

सडक कार्यालयले समेत प्रचलित कानून अनुसार गर्नुपर्नेमा शक्तिकेन्द्रको दबाबमा उसले पनि मुख खोल्न सकेको छैन । तत्कालिन क्षेत्रीय प्रशासक विनोद केसीले हेटौंडाको सडक विस्तार अभियान नै चलाएका थिए । त्यसबेला रगतको खोलो बग्छ भन्दै अहिलेका मुख्यमन्त्री पौडेल एक्साभेटर रोक्न सडकमै ओर्लिएका थिए ।

२५ मिटर होस् वा १६ मिटर सडक विस्तार गरी अहिलेको ट्राफिक समस्या समाधान गर्नुपर्नेमा त्यतातर्फ सरोकारवाला चुपचाप छन् । जसले गर्दा अहिले हेटौंडा बजारमा सबैले जाम भोग्नु परिरहेको छ ।

मेयर र मुख्यमन्त्रीको फरक धारणा

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको सडक फराकिलो पार्ने विषयमा फरक मत देखिएको छ । मुख्यमन्त्री पौडेलले संघीय सरकारलाई १६ मिटरमात्रै सडक विस्तार गर्न संघीय सरकारलाई सिफारीस गरेका छन् ।

तर मेयर महत भने २५ मिटरनै सडक विस्तार गर्नुपर्ने पक्षमा देखिन्छन् । उनले २५ मिटर सडक विस्तार गर्न भन्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा लेखेर पठाइसकेका छन् । केहीदिन अघि मेयर महतले रेडियो बुलेटिनको एक कार्यक्रममा सरकारले २५ मिटर सडक भत्काउनु पर्ने बताएका थिए । उनले भनेका थिए ‘ यदी सरकारले २५ मिटर भत्काउन सक्दैन भने मलाई जिम्मा दिए हुन्छ ’ ।