मनहरी गाउँपालिकाभित्र सबै विद्यालयमा एकै खालको पोशाक

२०७५ चैत्र ३०,शनिबार १०:५९

मकवानपुर ३० चैत्र । मकवानपुरको मनहरी गाउँपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरुले एकै खालको पोशाक लगाउनुपर्ने भएको छ ।

गाउँ शिक्षा समिति मनहरीले फरक–फरक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको विद्यालय पोशाकमा फरकपन देखिएको भन्दै एकरुपता ल्याउन खोजेको हो ।
समितिको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको छ । जसअनुसार आकासे रंगको सर्ट, गाढा निलो रंगको पाइन्ट र टाई तथा जुत्ता रहने निर्णय भएको छ ।

बर्षायाममा भने कतिपय विद्यालयमा टाई र जुत्ता अनिवार्य नहुने समितिले निर्णय गरेको छ । ‘सबै विद्यालयका बालबालिकाहरुको पोशाक एकरुपता ल्याउनका लागि हामीले यस्तो कदम चालेका हौँ’, मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले भनिन्–‘हाम्रो पोशाक देखेर मनहरी गाउँपालिकाका विद्यालयको विद्यार्थी रहेछ भनेर सबैले चिनून् भन्ने उद्देश्य हो ।’

गाउँ शिक्षा समितिले शैक्षिक वर्ष २०७५ को लागि शैक्षिक क्यालेन्डर समेत निर्माण गरेको छ । जस अनुसार यसअघि दशैँ, तिहार र छठ पर्वलाई जोडेर दिइँदै आएको लामो बिदाको कटौती भएको छ । दशैँ र तिहारको बीचमा १३ दिन विद्यालय सञ्चालन हुने गरी क्यालेन्डर निर्माण भएको गाउँ शिक्षा प्रमुख राजेन्द्र चौलागाईले बताए ।

बैठकले कक्षा ८ परिक्षाफल चैत ३० गते आज प्रकाशन गर्ने निर्णय गरेको छ । परिक्षाफलमा सबै विषयमा डी प्लस ल्याउने विद्यार्थीहरुको कक्षा अपग्रेड हुने र दुईवटासम्म विषयमा डि वा इ ग्रेड आएमा पुन मौका परिक्षाको व्यवस्था गरिने निर्णय गरेको छ ।