स्थानीयको गुनासो सुन्दै राक्सिराङ गाउँपालिका

२०७५ चैत्र ३०,शनिबार १०:४६

मकवानपुर ३० चैत्र । गाउँपालिकाले प्रदान गरेको सेवा सुविधा, विकास निर्माणको कामबारेको प्रतिक्रिया साथै समस्या र स्थानीयको गुनासो सुन्न मकवानपुरको राक्सिराङ गाउँपालिकाले शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ ।

मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ८ मा वडा नं. ५ र वडा नं. ७ का बासिन्दाको समेता सहभागितामा सार्वजनिक सुनुवाई गरिएको हो । राक्सिराङ गाउँपालिकाको आयोजना तथा एसएमएस मिडिया प्रालिको संयोजकनमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले आफ्ना समस्या तथा सुझावहरु जनप्रतिनिधिहरुलाई सुनाएका थिए ।

यस्तै गाउँपालिकाको काम कारबाही र सेवा सुविधाको बारेमा सार्वजनिक सुनुवाई स्थानीय बासीले जनप्रतिनिधिको काम सम्मानजनक भएको बताएका थिए ।

विकास निर्माणमा गाउँपालिकाले काम अगाडि बढाएकोमा अधिकांशले प्रशंसा गरे । केही स्थानीयबासीले रोजगार संयोजकको भूमिका, बेरोजगार भत्ताको बारेमा अनविज्ञ रहेकोले प्रष्ट्याउन आग्रह गरेका थिए ।

भूकम्प पछिको पुननिर्माणका समस्या, विद्यालयमा शिक्षकको आवश्यकता, खानेपानीको समस्यालगायतको बारेमा जनप्रतिनिधिलाई स्थानीयले गुनासो पोखेका थिए । स्थानीयको समस्या र गुनासो सुनेपछि जनप्रतिनिधिले स्थानीयको माग र आवश्यकताका आधारमा आफूहरु अघि बढिरहेको बताए ।

वडा नम्बर ८ का वडाध्यक्ष रामकृष्ण प्रजाको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यता रहेको थियो ।