आगोको ज्वालासहित ‘टोर्नाडो’ आएको पुष्टि

२०७५ चैत्र ३०,शनिबार ०८:११
file photo

काठमाडौं – नेपालको इतिहासमै पहिलो पटक बारा र पर्सा जिल्लामा आएको ‘टोर्नाडो’ आगोको ज्वालासहित आएको पुष्टि विज्ञहरूले गरेका छन् ।

तराईको बारा, पर्सा क्षेत्रमा चैत १७ गते आएको टोर्नाडोको अध्ययन गर्न पुगेको टोलीमा सहभागी विज्ञहरूले यस्तो पुष्टि गरेका हुन् । टोर्नाडो पत्ता लगाउन मुख्य भूमिका खेल्नु भएका विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठले नेपालको टोर्नाडोले विश्वकै ध्यान खिँचेको जानकारी दिनुभयो ।

चट्याङसहितको बादलले पारेको असिनाले पनि टोर्नाडोको विकराल रूप देखाएको उहाँले बताउनुभयो । उहाँका अनुसार एउटा घरको भार १५ पाउण्ड रहँदा टोर्नाडोको क्षमता १३.८ पाउण्डको रहेको थियो । करिब दुई सय किलोमिटर प्रतिघण्टाको हावाको वेगभित्र ३० किलोमिटर प्रतिघण्टा टोर्नाडोको तीव्र वेग थियो ।

आगोको लप्कासहितको चट्याङ त्यस क्षेत्रमा परेको टोलीका संयोजक वरिष्ठ मौसमविद् डा.अर्चना श्रेष्ठले प्रष्ट्याउनुभयो । “डढेका रुख र प्रत्यक्षदर्शीले आधाघण्टा वरपर घुँ घुँ गर्दै घुम्दा आगो देखेको प्रमाण दिएका छन्,” उहाँले भन्नुभयो, “त्यो रात आकाशको रङ समेत रातो देखिएको पाइएको छ ।” स्थलगत क्षति तथा प्रत्यक्षदर्शीको भिडियो उहाँले देखाउनुभयोे । उहाँले भनेझैं पश्चिमी वायु पोखरा, चितवनहुँदै बारा,पर्सामा पुग्दा उग्र टोर्नाडोको रूप लिएको थियो । आकाशको चिसो र स्थानीय तातो वायुका उग्रतासँगै सोली आकारको टोर्नाडो धर्ती छुँदै आकाशिएको थियो । याे समाचार गोरखापत्रमा छ ।