छवि अनित्यको प्रश्न : आधारभूत तह उत्तीर्ण परीक्षामा कहिलेसम्म ठगिने अभिभावक ?

२०७५, २९ चैत्र शुक्रबार १२:१६

देशैभरका स्थानीय निकायहरूले लिएको आधारभूत तह (कक्षा आठ) उत्तीर्ण परीक्षाको नतिजा आउने क्रम चलिरहेको छ । अधिकांश विद्यार्थी ‘एप्लस’ वा ‘ए’ श्रेणीमा उत्तीर्ण भएका छन् । केही नभए ‘बीप्लस’ त पक्का ! सामुदायिक विद्यालयको नतिजामा पनि उल्लेख्य सुधार भएको छ । यो नतिजालाई आधार मान्ने हो भने हामीले शिक्षामा व्यापक सुधार गरेका छौँ । शिक्षासँग सम्बन्धित र विशेषतः यो नतिजा हासिल गर्न अहोरात्र खटिने सबैलाई बधाई !

नतिजाको स्वरूप

एउटा उदाहरण हेरौँ – हेटौँडा उपमहानगरपालिकाको आधारभूत तहको नतिजाको ।

हेटौँडा उपमहानगरपालिकाबाट यस वर्ष आधारभूत तह उत्तीर्ण परीक्षामा ३,६२० परीक्षार्थी सहभागी भएका थिए । जस मध्ये ए प्लस ६५८, ए ९११, बि प्लस १,००६, बि ६९२, सि प्लस १८५ र सि ग्रेडमा १०२ परीक्षार्थी उत्तीर्ण भए । यस्तै डि प्लस २७, डि ६ र इ ग्रेड ल्याउने विद्यार्थी संख्या ३३ मात्रै रह्यो । यसरी हेर्दा औसत २.० भन्दा माथि ग्रेड पोइन्ट प्राप्त गर्ने विद्यार्थी ९५.३६ प्रतिशत छ भने जम्मा ४.६४ प्रतिशत परीक्षार्थी मात्रै औसत भन्दा कम अङ्क ल्याएर आधारभूत तह उत्तीर्ण गरेका छन् ।
नतिजाको विश्वसनीयताः

हेटौँडा उपमहानगरपालिकाको आधारभूत तह उत्तीर्ण परीक्षाको नतिजालाई आधार मानेर गत वर्षको एसईई परीक्षाको नतिजालाई हेर्ने हो भने पत्याउन गाह्रो पर्छ । यहाँ आधारभूत तहमा ९५.३६ प्रतिशत विद्यार्थीले औसत २.० ग्रेडपोइन्ट भन्दा बढी अङ्क ल्याइरहँदा एसईईमा यो प्रतिशत ५५ को हाराहारीमा सीमित छ । तर, यता जम्मा ४.६४ प्रतिशत मात्र देखिएको औसत भन्दा कम अङ्क ल्याउने विद्यार्थी सङ्ख्या भने एसईईमा दसगुना बढेर ४५ प्रतिशत कसरी पुग्छ ?

(हेटौँडा उपमहानगरपालिकाको नतिजालाई तुलनात्मक अध्ययनका लागि सन्दर्भ सामग्रीका रुपमा मात्र प्रयोग गरिएको हो ।)

समस्याको जड

परीक्षा मूल्याङ्कनको एक साधन मात्र हो, एक मात्र साधन होइन । तर हामी परीक्षालाई मूल्याङ्कनको एक मात्र साधन मानेर काम गरिरहेका छौँ । यहाँ हेटौँडा उपमहानगरपालिकाको नतिजा समग्र मुलुकको नतिजालाई चिहाउने आँखिझ्याल हुन सक्छ भनेर यो उदाहरण प्रस्तुत गरिएको हो । किनकि यस स्थानीय निकाय भित्र मुख्य बजार क्षेत्रका सुविधा सम्पन्न देखि मुस्किलले ४० प्रतिशत हाजिर हुने समुदायका विद्यालय पनि समेटिएका छन् ।

समस्या नतिजा राम्रो आयो भन्ने हुनै सक्दैन । न त नतिजा बिग्रनु पर्थ्यो भन्ने मेरो मान्यता हो । तर यो नतिजा सही होइन र हुन सक्दैन भन्ने ठम्याई हो ।

विगतका केही वर्षमा नतिजामा यस्तो विघ्न शंका गर्नुपर्ने ठाउँ थिएन । स्रोत केन्द्रहरूले परीक्षा सञ्चालन र अनुगमन गर्थे । उत्तर पुस्तिका परीक्षणमा केही स्रोत केन्द्रले एसईईमा जस्तै कोडिङ प्रणाली अपनाएका थिए । केन्द्रमा उत्तर पुस्तिका परीक्षण पनि भए र नतिजा केही विश्वसनीय र वास्तविक पनि भयो । तर बिस्तारै यो प्रक्रियाले निरन्तरता पाउन सकेन । विद्यालयहरूले आफैँ उत्तरपुस्तिका परीक्षण गरे । आफैँले अन्तिम नतिजा तयार पारे र खाली प्रमाणीकरणका लागि मात्रै सम्बन्धित निकायमा पेश गरे । स्थानीय निकायले पनि विद्यालयहरूले जे जस्तो नतीजा तयार पारेर ल्याए, त्यसैलाई प्रमाणीकरण गरेर पठाइदिए । त्यसका वैधता र विश्वसनियताबारे कहीँकतै कुनै प्रश्न उठाइएन । अभिभावकलाई पनि आफ्ना बालबालिका उत्कृष्ट अङ्क सहित उत्तीर्ण हुँदा यो सही होइन भन्न जाने हिम्मत भएन !

बाध्यात्मक परिवेश

प्राप्त नतिजाको वैधता र विश्वसनीयता माथि कुरा उठ्दै गर्ला । यहाँ प्रसङ्ग उठाउँ, यदि यो नतिजा बनावटी हो भने त्यसो गर्नुपर्ने बाध्यता किन रह्यो ?

संस्थागत विद्यालयहरूका बाध्यता आआफ्नै छन् । नगरकै ग्रामीण क्षेत्रको कुनै एउटा संस्थागत विद्यालयले केही वर्ष अघि अति कमजोर देखिएका विभिन्न कक्षाका २१ जना विद्यार्थीको कक्षा दोहोर्याउनुपर्ने निष्कर्ष सहितको नतिजा अभिभावकलाई बुझायो । परिणाम – अर्को सेसनमा ती मध्ये १९ जनाले विद्यालय छाडे र अर्कै विद्यालयमा भर्ना हुन पुगे ।

प्रतिस्पर्धाको समय छ । आफ्नो विद्यालयलाई अरु भन्दा उत्कृष्ट देखाउने एसईई पछिको वैधानिक हतियार भनेको आधारभूत तह उत्तीर्ण परीक्षा मात्रै हो । कमजोर विद्यार्थीको वास्तविक अवस्था देखाइदिउँ अर्को वर्ष भएका विद्यार्थी पनि विद्यालय छाडेर जाने डर ! बरू एसईईमा देखाजाएगा ! कमसेकम नयाँ सेसन सुरू हुनु ठीक अघि यति विद्यार्थीले ए प्लस ल्याए भनेर अभिभावकलाई देखाउन त सकिन्छ ।

जब संस्थागत विद्यालयहरू यसरी उत्रिन्छन्, सामुदायिक विद्यालय माथि दबाब थपिन्छ । आफ्नो मात्रै कमजोर नतिजा देखाउँदा विद्यार्थी सबै संस्थागत तिर ओइरिन्छन् । जसले गर्दा विद्यार्थी अभावमा विद्यालय मर्जरको अवस्था सिर्जना हुन्छ । अर्को कुरा आधारभूत तह उत्तीर्ण परीक्षाको असर शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कनमा पर्न जान्छ । जसका कारण शिक्षकको बढुवा लगायतका वृत्ति विकासनै प्रभावित हुन्छ । यसकारण पनि विद्यालयहरू अभिभावकलाई बालबालिकाको वास्तविक नतिजा सुम्पिन डराइरहेका छन् ।

ठगिनुको आनन्द

के साँच्चै हाम्रा अभिभावकहरूलाई थाहा नहोला यो वास्तविकता ? पक्कै थाहा छ । अहिलेको अवस्थामा अधिकांश अभिभावक कम्तिमा आफ्ना बालबालिकाले के र कस्तो पढ्दैछन् भन्ने ज्ञान राख्छन् । संस्थागत र सामुदायिक दुबै खाले विद्यालयले त्रैमासिक परीक्षाको प्रगति विवरण उत्तर पुस्तिका सहित घर घरमा पठाउने अभ्यास थालेको धेरै भैसक्यो । यस्तोमा दुई महिना अघिको त्रैमासिक परीक्षामा आफ्ना बालबालिकाले प्राप्त गरेको उपलब्धीसँग अभिभावक जानकार हुन्छन् नै ।

एउटा रोचक प्रसङ्ग के भने गएको पुसमा एकजना अभिभावक आफ्नो छोराको पढाई बिग्रेको गुनासो गर्दै हुनुहुन्थ्यो । उहाँको छोरा दोस्रो त्रैमासिक परीक्षामा चारवटा विषयमा अनुत्तीर्ण भएका रहेछन् । आज तिनै अभिभावक सामाजिक सञ्जालमा लेख्दै हुनुहुन्थ्यो – छोरोले ए ग्रेडमा आठ कक्षा उत्तीर्ण गरेकोमा बधाई !

आखिर हाम्रा अभिभावकको वास्तविक चाहना के हो – ठोस सिकाइ उपलब्धि वा मार्कसिटमा राम्रो ग्रेड ? हाम्रो यस किसिमको खुशीले हामीलाई सही दिशा तर्फ डोहोर्याइरहेको छ त ? सोच्नुपर्ने बेला हो यो ।

सोच्नुस्, दुई महिना अघि लिइएको त्रैमासिक परीक्षामा दुईचारवटै विषयमा अनुत्तीर्ण कुनै विद्यार्थी कुन जादुको छडीले छोइए पछि रातारात प्रगति गर्छ र ए वा एप्लस को हकदार हुन्छ ? त्यस्तो कुन बुटी छ जसले एकाएक विद्यार्थीलाई उत्कृष्ट नतिजा दिलाउँछ ?
केही खराबी पक्कै छ हाम्रो शिक्षा प्रणालीमा । खोजौँ । सामुदायिक, संस्थागत सबै विद्यालयले अभिभावकलाई बालबालिकाको सही नतिजाको बारेमा जानकारी दिउँ । अभिभावकले पनि सही नतिजा पाउनमा चासो देखाउँ ।

यही विधि र तरिका अपनाईराख्ने हो भने त हामी हाम्रै भविष्य माथि गम्भीर खेलवाड गर्दैछौँ ।

(लेखक, एक बर्ष अघि स्थायी शिक्षकबाट राजिनामा गरेर हेटौंडा स्थित एक निजी विद्यालयमा अध्यापन गर्दै आएका छन् ।)  

यो आलेख इडियू खबरबाट लिइएको हो । सं.