कसलाई चिन्नु हुन्छ ?

२०७५, २९ चैत्र शुक्रबार ११:०३

प्रश्न धेरै गाह्रो छैन । उत्तर धेरै सजिलो छैन ।

हाकाहाकी कसैले कसैलाई तपाईँ कसलाई बढी चिन्नुहुन्छ भन्ने प्रश्न ग¥यो भने उत्तर दिन पहिलोचोटि जो पनि अलमलिन्छ ।
यदि मलाई कसैले सोध्यो भने म भनिदिन्छु कि म कसैलाई पनि चिन्दिनँ । मलाई थाहा छ – म आफैँलाई पनि चिन्दिनँ । यसो भन्दा खुस्केछ नभन्ठान्नु होला किनभने स्वयम् तपाईँले पनि आफूलाई राम्ररी चिन्नुहुन्न ।

इमानदारीपूर्वक भन्दछु – म आफ्नो शरीरका सबै अङ्गप्रत्यङ्गहरुलाई जान्दिनँ, शरीरका दुई सय छ हाडहरुको नाम थाहा छैन, आफ्नै शरीरको विभिन्न भागमा उमे्रका रौँका नाम पनि थाहा छैन । सम्भवतः तपाईँलाई पनि थाहा नहोला ।

विद्वानहरुले भन्ने गरेका छन् – आफ्नै प्रतिभालाई नचिनेर धेरै मानिस मर्दछन् । आफूभित्रको प्रतिभालाई कहिलेकाहीँ अरुले चिनाउनु पर्दछ । कतिपयले आफैँले आफ्नो प्रतिभालाई चिनेर त्यसैअनुरूप कार्य गर्दा प्रसिद्धि प्राप्त गरेका उदाहरणहरू हाम्रै वरपर छन् ।

मेरो वरपर रहेका अधिकांश वनस्पतिलाई चिन्दछु तर नाम थाहा छैन । मैले गोठालो जाँदा र घाँस काट्न जाँदा आफैँले काट्ने गरेका घाँसहरुको नाम मलाई थाहा हुँदैनथ्यो । मैले एकजना साथीलाई उसको घरका गमलामा रहेका फूलहरूको बारेमा सोधें । एक दुई फूलको नाम नै बताउन सकेनन् । नाम बताउन सकेका फूलहरूले वातावरणमा पार्ने प्रभावको बारेमा त बताउन सकेनन् । आँगनमा फुलेका फूलहरूको वैज्ञानिक नाम त झन् थाहा थिएन ।

यदि आफ्नै सन्तानलाई राम्ररी चिन्न सकेको भए सबै अभिभावकका सन्तान पढाइ वा उसको रुचिको अन्य क्षेत्रमा निकै राम्रो गर्न सक्थे । तर वास्तविकता हामीले देखिरहेका छौँ । समाज कस्तो छ भन्ने कुरो कतै लुकेको छैन ।

एक जनालाई सोधेँ – तपाईँ कुन ठाउँलाई बढी चिन्नुहुन्छ ? उसले आफ्नै गाउँको नाम बतायो । मैले अर्को प्रश्न थपेँ – तपाईँको गाउँ कहिले र कसरी बसेको हो तथा नामकरण कसरी हुन पुगेको हो ? उत्तरमा शून्यता आयो । गाउँमा स्थापित विभिन्न देवदेवीको स्थापनाकाल र पूजा हुनुपर्ने कारण तथा चलनको विषयमा प्रश्न राखें । धेरै कुरा बुझ्न बाँकी रहेको स्पष्ट ग¥यो । सोधेँ – तपाईँको गाउँमा रहेका जातिहरू कुन, कहाँबाट र कहिले तथा कुन परिस्थितिमा आए भन्ने विषयमा थाहा छ ? झन् यस विषयमा आफूले केही पनि बताउन नसक्ने बताउँदै भन्छन् – मलाई वर्तमानका तथ्याङ्कहरू थाहा छ । मैले अर्को प्रश्न थपेँ – तपाईँका परिवारका सम्पूर्ण सदस्यका नाम (मलाई सबैको नाम थाहा छ) को नेपाली, हिन्दी, बज्जिका वा अङ्ग्रेजी कुनै एक भाषामा अर्थ बताइदिनुहोस् । नामहरू सम्झँदै असमर्थता प्रकट गर्दछन् ।

संसारमा जान्नुपर्ने कुरा धेरै छन् । बुझ्नुपर्ने कुरा झन् बढी छन् । चिन्नुपर्ने कुराको संसार कति विशाल छन् जो कल्पनाभन्दा पनि विशाल छ । हामीले ज्ञानको कुनै एक क्षेत्रलाई पनि निकै कम चिन्दछौँ । धेरै कुरा चिन्न बाँकी नै रहन्छन् । यसै कारण कुनै विद्वान्को ज्ञानको क्षेत्र निकै साँघुरो हुन्छ । यहाँ साँघुरोमा विशालता हुन्छ भन्न खोजिएको हो । कुनै एक विषयमा स्नातकोत्तर गरेपछि त्यसको एक छेउमा पिएचडि गर्दछन् र पिएचडिको पनि एउटा कुनाको विषयमा उसले डि.लिट्. गर्न पाउँछ । डि.लिट्. गर्नेले संसारमा आफ्नो क्षेत्र वा विषयको विशिष्ट नागरिकमा गणना हुन्छ ।

आचार्य चाणक्य भन्दछन् – पहिचान सबैको हुन्छ । साधारण पहिचानबाट विशिष्टतिर जानुपर्छ । विशिष्टता भनेको गहिराई हो । मेडिकल विषयमा कसैले डि.लिट् गर्दछन् भने उनले उपचार गर्ने रोग चाहिँ कुनै एउटा रोगको सानो अंश होला तर अहेव गरेकाले तत्काल सबै रोगको औषधि दिन सक्छन् । आचार्य चाणक्यले भनेको पहिचान चाहिँ लाखौँको भीडमा कसैलाई कसैले किन चिन्नु पर्दछ भन्ने हो । उसलाई कसैले किन चिन्नु पर्दछ भन्ने कुरो उसैले निर्धारण गर्ने हो । यसका लागि उसले आफूलाई चिन्नु पर्दछ । फेरि प्रश्न उठ्छ कि कोही कसैले आफैँलाई चिनेको हुँदैन र ? वा आफैँलाई पनि नचिन्ने कोही हुन्छ त ? चिन्ने प्रमाण के ? चिन्दछु भन्ने आधार के ? केही सूत्रहरू माथि नै आइसकेका छन् ।

चिन्नुपर्ने कारण हुन्छ । आफैँ सेभ गर्नेले आफ्नो गालालाई हर समय चिल्लो र आकर्षक पारिरहने सबै सामग्रीको नाउँ थाहा हुन्छ । तिनीहरू केबाट बनेका हुन् र कहाँबाट आउँछन् भन्ने विषयमा अलिअलि जानकारी राख्छन् । तिनका साइड इफेक्टस् के के हुन् भन्दा चुप लाग्छन् । र, जो सैलुनमा दारी काट्छन्, उसलाई यी प्रश्नहरू नै बेकार लाग्छन् । चिल्लो गाला परिचय बनाउन चाहने तर चिल्लोपनाबारे जानकारी नराख्ने हामी धेरै छौँ ।
अर्को यथार्थ हो – कोही कतै घमण्ड नगरे हुन्छ कि ऊ निकै जान्ने छ ।

कोही कुन क्षेत्रको जानकार छ भने सोही क्षेत्रको ऊभन्दा बढी जानकार अरु पनि छन् भन्ने कुरो उसले बुझेको हुन्छ । अझ कतिपयका आफन्तले प्रशंसाका पुल यसरी बाँध्दछन् कि उही संसारमा सबैभन्दा जान्ने छन् । आफन्तको प्रतिभामा गर्व गर्नु स्वाभाविक हो तर जो प्रतिभावान छ, उसले चाहिँ आफ्नै क्षेत्रमा आफूलाई कति चिनेको छ र अझ कति चिन्न बाँकी छ भन्नेतर्फ पनि विचार गर्नुपर्ने हो । यतातिर ध्यान दिने चाहिँ प्रगतिको उकालोमा चढिरहेको हुन्छ र आफैँलाई निरन्तर जान्ने भनेर आफूले चिनेको क्षेत्रमै सन्तोष गर्नेले चाहिँ आफूभन्दा अरु कोही अगाडि बढिरहेको पाउँछ । अर्थात् आफ्नो परिचय साँघुरिएको बुझ्ने र नबुझ्ने दुवैथरि पहिचानको लागि सङ्घर्षरत हुन्छन् ।

कोही के गर्दैछ र के हो भन्ने कुरो आफँैमा महत्वपूर्ण छ । यस अर्थमा हरेक व्यक्ति विशिष्ट छ । हरेक व्यक्तिको विशिष्टता भनेकै उसको पहिचानसँग सम्बन्धित छ । हरेकले यसैलाई चिन्नु पर्दछ । यसलाई चिनेपछि उसलाई अरुले चिन्न थाल्दछ । पहिचान कायम हुनु भनेको यही नै हो ।
अब चिन्ने कुरो कसैले गर्दा म झस्किन्छु । मलाई लाग्छ मैले आफैँलाई चिनेको छैन । कोही कसरी दाबी गर्न सक्दछ कि म फलानोलाई राम्ररी
चिन्दछु ।

चिन्नेसित सङ्गत हुन्छ । आजभोलि धेरैका पाँच हजार साथी फेसबुकमा हुन्छन् । सङ्गत र साथीको अर्थ यहाँनेर बुझ्न मलाई अप्ठ्यारो हुन थाल्छ । मैले सङ्गत गरेको जति सबैलाई म चिन्दछु भनेर दाबी गर्दिनँ किनभने मैले माथि नै स्वीकार गरेको छु – म आफँैलाई चिन्दिनँ । मलाई आफ्नै वातावरण र वनस्पतिको बारेमा धेरै थाहा छैन

कहिलेकाहीँ प्रश्न उठ्छ मनमा – जब म आफैँलाई चिन्नमा यति कमजोर छु भने के म संसारकै कमजोर छु त ? यसरी भए पनि त ठीक हुन्थ्यो किनभने मेरो नाम गिनिज बुकमा आइसक्थ्यो तर यसो हुन सकेको छैन ।

सबैभन्दा जान्ने दाबी त गर्नै सक्दिनँ किनभने मलाई मेरै विषयमा थाहा छैन । के उसो भए मभन्दा पनि नजान्नेहरु छन् ? आफैंले आफैँलाई चिन्न नसक्नेले यस प्रकारको विषयमा सोच्नु मलाई बेकार लाग्न थालेको छ ।

वर्षौं सँगै बिताएका तर पछि कुनै कारणले छुट्टिएकाहरू पछुताउने गर्दछन् – मैले उसलाई समयमा चिन्न सकिनँ ।
कसैको उददगार हुन्छ – यतिका दिनपछि बल्ल म उसलाई चिन्दैछु ।

कोही भन्छन् – म उसको फलानो पक्षलाई मात्र चिन्दछु, त्यो पनि यी यी शर्त वा सीमाहरूभित्र रहेर ।