मकवानपुरको मनहरीमा अन्य पार्टी परित्याग गरि ३५ जना नेकपामा प्रवेश

२०७५ चैत्र २८,बिहीबार ११:१८

मकवानपुर २८ चैत्र । मकवानपुरको मनहरी गाउँपालिकामा क्रियाशील विभिन्न राजनीतिक दल परित्याग गरी ३५ जना नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध भएका छन् । मनहरी गाउँपालिका वडा नं १ र २ को संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रममा ३५ जना नेपाली काँग्रेस तथा विप्लव नेतृत्वको पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन् ।

नेकपाका केन्द्रीय सदस्य रामेश्वर राना, प्रदेश सांसद मुनु सिग्देल, ओमबहादुर ग्लान तथा प्रदेश कमिटी सदस्य एकराज उप्रेती, जिल्ला नेताहरु बद्रीप्रसाद लम्साल र रामहरि सुवेदी लगायतले नवप्रवेशीहरुलाई टिका र खादा लगाएर स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य रामेश्वर रानाले नेकपा नै अब जनताको आशा र भरोसाको केन्द्र रहेको बताए । उनले तीन तहको सरकार सञ्चालन गरिरहेको नेकपाले अबको पाँच बर्षमा जनताको समस्या समाधानमा कुनै कसूर बाँकी नराख्ने दाबी गरे । अहिले पार्टी एकताको चरणमा रहेको भन्दै उनले निराश नभई अगाडि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।

कार्यक्रममा प्रदेश सांसद मुनु सिग्देलले समावेशी चरित्रको निर्माण र विकासका लागि नेकपाले खेलेको भूमिका प्रशंसनीय रहेको भन्दै केन्द्र, प्रदेश र स्थानीय सरकारले जनतालाई सुख दिने गरी काम गर्नुको बिकल्प नरहेको बताए ।

कार्यक्रममा सांसद ओमबहादुर ग्लान, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, नेकपाका जिल्ला नेताहरु बद्रीप्रसाद लम्साल, राजाराम स्याङतान, रामहरि सुवेदी, ३ नं वडाध्यक्ष मानबहादुर स्याङ्तान लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।