हेटौँडाको सवारी जामले मेयर महत वाक्क

२०७५ चैत्र २८,बिहीबार ०७:३८

मकवानपुर, २८ चैत । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत हेटौँडामा बढ्दो सवारी जामदेखि वाक्क भइसकेका छन् । उनले हिजो हेटौँडामा आयोजित एक कार्यक्रममा मन्तव्य राख्ने क्रममा सरकारले २५ मिटर सडक फराकिलो पार्ने काममा ढिलाई गरेकोमा आक्रोशित देखिए ।

सरकारले किन २५ मिटरको विषयमा निर्णय गर्दैन, उनले मन्तव्यको क्रममा भने । यदि सरकारले यसमा काम गर्न नसक्ने हो भने जिम्मा पाए आफूले सडक विस्तार गर्ने समेत महतले बताए ।

हेटौँडाको सवारी जाम र ट्राफिक व्यवस्थापनको विषयमा आफूलाई दोष आउने गरेको उनको भनाइ थियो । जिल्ला ट्राफिक छ, उसले व्यवस्थापन गर्नपर्यो नि, महतले भने । ट्राफिक प्रहरीलाई स्रोत साधनको अभाव भए उपमहानगरपालिकाले मिलाउँछ, महतले भने – यो सडक विस्तारको काम छिटै गरौँ ।

बाराको अमलेखगंज र चितवन मकवानपुरको लोथरसम्म सडक विस्तार भइसकेको छ । हेटौंडाको रातोमाटेदेखि लोथरसम्मको क्षेत्र भने अन्यौलमा छ । २५ मिटरको सम्बन्धमा प्रदेश सरकारले १६/१६ मिटर भत्काउने भनी केन्द्र सरकारलाई सिफारिस गरेर झनै अन्यौल स्थिति बनेको छ ।

तत्कालिन क्षेत्रीय प्रशासक विनोद केसीको अगुवाईमा हेटौंडाको सडक विस्तार गर्ने कार्य प्रारम्भ भएको थियो । तर, शक्तिकेन्द्रहरुको दौडधूपले केसीको सरुवा भयो र यो कार्य अघि बढ्न सकेन ।

सडकको दुबै तर्फ कानुन बमोजिम क्षतिपूर्ति दिनुपर्ने भए दिएर वा लिइसकेको भए नदिई तुरुन्तै सडक विस्तार हुनुपर्ने माग उठेको छ । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेल भने हेटौँडामा १६/१६ मिटर सडक विस्तार गरी बाइपास चलाउनुपर्ने पक्षमा छन् ।

रेडियो बुलेटिनले हेटौँडामा आयोजना गरेको मानव बेचविखन नियमन सम्बन्धी एक कार्यक्रममा मेयर महतले २५ मिटर विस्तार आवश्यक भएको बताएका हुन् ।