हेटौंडामा सडक विस्तारको विषय त्यसै हरायो

२०७५ चैत्र २६,मंगलवार ०९:०९

मकवानपुर २६ चैत । हेटौंडामा २५ मिटर सडक विस्तारको विषय अन्यौलमा परेको छ । पूर्वपश्चिम लोकमार्ग तथा त्रिभुवन राजपथमा पर्ने सडक विस्तारको काम अहिले अन्यौलमा परेपछि बजार परिसरमा सवारी व्यवस्थापनमा निकै समस्या देखिएको छ ।

३ नम्बर प्रदेश सरकार गठन भएको १ बर्ष पुगेर यता आएपनि प्रदेश सरकारले सडक विस्तारको विषयमा गतिलो निर्णय गर्न सकेको छैन । प्रदेश सरकारलेनै तदरुकता नदेखाएपछि सडक विस्तारको विषयमा सुधारका संभावनाहरु देखिएका छैनन् ।

सडक विस्तार नहुँदा सवारी व्यवस्थापन अस्तव्यस्त छ । पार्कीङ्मा समस्या देखिएको छ । साधुँरो सडकका कारण दुर्घटनाको उच्च जोखिमको संभावना छ । बजार क्षेत्रमा २ किलोमिटरको दुरी पार गर्न घण्टौं लाग्ने अवस्था छ । सरोकारवालाहरुको उदाशिनताका कारण सडक फराकीलो पार्ने योजना अलमलमा परेको छ ।

३ नम्बर प्रदेश सरकारले केही समयअधि बजार क्षेत्रमा ४ लेनको बाटो निर्माण गर्ने र १६ मिटर मात्रै फराकीलो पार्ने भन्दै संघीय सरकारलाई प्रस्ताव पेश गरेको छ । तर स्थानीय रुपमा भने सडक २५ मिटरनै फराकीलो पार्नुपर्ने भन्दै आवाज उठीरहेको छ ।

२५ मिटरनै सडक विस्तार गर्न अधिकाँश २५ मिटरक्षेत्रभीत्र पर्ने घरघीहरु पनि सकारात्मक देखिएका छन् । हेटौंडा उपमहानगरपालिकाको कार्यालयले पनि बजार क्षेत्रमा २५ मिटरनै सडक विस्तार गर्दा उपयुक्त हुने भन्दै प्रधामन्त्री कार्यालयमा सुझाव पेश गरेको थियो ।

प्रदेश सरकारका भौतिक तथा पूर्वाधार विकासमन्त्री केशव स्थापित बर्खास्त भएपछि अहिले मुख्यमन्त्री डोरमणि पौडेल आफैंले सो मन्त्रालयको कार्याभार संहालिरहेका छन् । प्रदेश सरकारका पूर्वमन्त्री स्थापितले १ सय दिनमा हेटौंडाको सडक फराकिलो पार्ने योजना तयार पारेका थिए । तर मुख्यमन्त्री पौडेल आफैंले कार्याभार संहालेपछि सडक विस्तारको विषयमा प्रदेश सरकारसंग अहिले कुनै योजना छैन ।