नेपाल परिवार दलले गर्यो हावाहुरी पीडितलाई सोलार लाइट वितरण

२०७५, २३ चैत्र शनिबार १५:५७

मकवानपुर २३ चैत । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको नेतृत्वको टोलीले बिहीबार बाराको हावाहुरी प्रभावित विभिन्न क्षेत्रहरुमा स्थलगत अवलोकन तथा स्थानीयसँग अन्तरक्रिया गरेको छ ।

पूर्वशान्ति तथा पुनर्निर्माणमन्त्रीसमेत रहेका ढकालले पर्याप्त राहत नपुगेको देवताल गाउँपालिकाको एक सय ७० घरपरिवारलाई सौर्य ऊर्जाबाट चल्ने बत्ती वितरण गरेका हुन् ।

साथै नेता ढकाल युनिसेफ, राधे राधे धाम लगायत विभिन्न संघ सस्थाको राहत वितरण कार्यक्रममा पनि सहभागी भै सम्पूर्ण स्वयम सेवकहरुलाई प्रोत्साहित गर्दै विपत्तिमा परेकाहरूका सााथमा आफूहरू रहेको सन्देश प्रवाह गरेका थिए ।

अध्यक्ष ढकालले देशको कुनै पनि भूभागका नागरिकको पीडा सबै नागरिकको साझा पीडा हो भन्दै दुःखको घडीमा सबै एक भएर सामना गर्नुपर्छ भने ।

अध्यक्ष ढकालले तीनै तहका सरकार, सुरक्षा अंगहरू र विभिन्न संघ–संस्थाले राहत तथा उद्धारमा देखाएको योगदानलाई कदर गर्दै भविष्यमा पर्न सक्ने प्राकृतिक विपदको जोखिम न्यूनीकरण गर्न बेलामै उचित सावधानी अपनाउन पनि सरोकारवालाहरुलाई सुझाब दिए ।

नेता ढकालसँगै पार्टीका महामन्त्री विनोद डाँगी, प्रवक्ता सन्तोषकुमार पौडेल, सभासद मिलन राजवंशी, बाराका परिवार दलका जिल्ला अध्यक्ष रामचन्द्र चौधरी, पर्साका परिवार दलका जिल्ला अध्यक्ष पल्टन प्रसाद पटेल तथा नेकपाका पूर्वसांसद प्रह्लाद लामिछानेलगायत दर्जनौ शुभचिन्तक तथा कार्यकर्ताहरु सहभागी थिए ।

मधेसवाणीबाट