प्रलेसको विवाद र अबको प्रलेस

२०७५ चैत्र २१,बिहीबार १८:२२

प्रारम्भ

हामी यतिखेर एउटा कम्युनिस्ट पार्टीले अर्को कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइरहेको सन्दर्भमा श्यामप्रसाद शर्माहरूको विशेष पहलमा २००९ सालमा वीरगञ्जमा स्थापना भएको नेपालका वाम–कम्युनिस्ट पार्टीसम्बद्ध प्रगतिशील लेखक–साहित्यकारहरूको साझा मोर्चा प्रगतिशील लेखक सङ्घको ११ औँ राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा उभिएका छौँ । प्रलेस अनेकन् जटिल सङ्घर्षका बीचबाट यहाँसम्म आइपुगेको कुरामा कुनै शङ्का छैन । यसले स्थापनाकालदेखि नै बाह्य र आन्तरिक दुवै क्षेत्रमा विभिन्न चिन्तन र प्रवृत्तिका विरुद्ध यथासक्दो सङ्घर्ष पनि गर्दै आएको कुरा सही हो । कुनै बेला यसको नेृतत्वमा रहेका एकाध मानिस प्रतिध्रुबीय कित्तामा उभिन पुगेको यथार्थ पनि हामीसित रहेकै छ । प्रलेसमा हुने सङ्घर्ष मूलतः राजतीतिक–वैचारिक, साङ्गठानिक, आन्दोलन–सङ्घर्ष, नीति–नेतृत्व र सिर्जनामा आधारित छन् । कैयौँ सीमाबीच जन्मिएको प्रलेसले पछिल्लो अवस्थामा आइपुग्दा आफूलाई पूर्वोत्तर कैयौँ सीमालाई सच्याउने प्रयत्न नगरेको पनि होइन । वस्तुगत परिस्थितिमा आउने फेरबदलसँगै कुनै पनि सङ्गठनमा नयाँ–नयाँ समस्या सिर्जना हुने कुरामा पनि हामीलाई कुनै दुविधा छैन । प्रलेसको मूल उद्देश्य सामन्तवाद तथा साम्राज्यवादको विरोध र राष्ट्रियता, जनतन्त्र तथा वैज्ञानिक साहित्य–संस्कृतिको पक्षमा लेखक–साहित्यकारहरूलाई सङ्गठित गर्नु, प्रगतिशील साहित्यको सिर्जना गर्नु र सो उद्देश्य प्राप्तिका लागि सङ्घर्षरत रहनु रहिआएको पाइन्छ । साथै, यस्ता सङ्गठनमा आउने प्राविधिक समस्यामा हामी त्यति टाउको दुखाउँदैनौँ तर नीतिगत कुरामा भने हाम्रो गम्भीर चासो रहन्छ । प्रलेसको जीवनमा जनसाहित्य, प्रगतिशील, आलोचनात्मक यथार्थवाद, प्रगतिवादी वा यथार्थवादी वा माक्र्सवादी साहित्य–सिर्जनाका बीच रूप र अन्तरवस्तुका बीचमा, अझ बढी जीवन–व्यवहारमा सङ्गति र असङ्गतिबीचमा अन्तरविरोध देखापर्दै आएको छ । कलाको रूप र अन्तरवस्तु तथा कर्ताको जीवन–व्यवहारको सुन्दर संयोजनबाट मात्रै त्यसको सौन्दर्यात्मक बोध हुने कुरामा हामीलाई कुनै शङ्का छैन ।

१. राजीतिक–वैचारिक प्रश्न

समकालीन नेपाल राजनीतिक रूपमा ‘सामाजिक फासिवाद’, आर्थिक रूपमा ‘दलाल पुँजीवाद’ (निगमीय पुँजीवाद) तथा सांस्कृतिक रूपमा ‘सामान्तवाद’ (आन्तरिक) तथा ‘भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवाद’ (बाह्य) का रूपमा रहेको छ । प्रगतिशील लेखकहरूले यी तीनवटै विषयमा सही दृष्टिकोण बनाउन आवश्यक छ । यो क्षेत्रमा पनि आधार र उपरीसंरचनाले ठूलो अर्थ राख्दछ । ‘राजनीतिलाई शीर्षासनमा राख’ भन्ने कुरालाई आत्मसात गर्नेदेखि लिएर प्रलेसमा सिर्जनात्मक सिद्धान्त र विधिका दृष्टिले स्वःस्फूर्त तथा पुँजीवादी यथार्थवाद, आलोचनात्मक वा समाजवादी यथार्थवादलाई अङ्गीकार गर्ने साहित्यकारहरू सम्मिलित छन् । त्यसैगरी, प्रलेसमा पथपदर्शक सिद्धान्तका दृष्टिले माक्र्सवाद–लेनिनवाद वा माक्र्सवाद–लेनिनवाद–माओवाद वा विचारधारालाई पथप्रदर्शक सिद्धान्त मान्ने वा कुनैलाई पनि नमान्ने लेखकहरू पनि रहेका छन् । प्रलेसमा राष्ट्रियता तथा जनतन्त्र, नयाँ जनवाद, नौलो जनवाद, बहुदलीय जनवाद, समाजवाद, वैज्ञानिक समाजवादलाई स्वीकार्ने विभिन्न कम्युनिस्ट राजनीतिक दलसम्बद्ध वा स्वतन्त्र लेखकहरू आबद्ध छन् । यसरी हेर्दा प्रलेसमा विचार र विश्वदृष्टिकोणको क्षेत्रमा विविधता रहेको सहजै देख्न सकिन्छ । यही विविधताका कारण प्रलेसमा वैचारिक समस्या आउने गरेका छन् । यो विश्वदृष्टिकोणको समस्या हो । यसर्थ प्रलेसमा सर्वप्रथम विश्वदृष्टिकोणको समस्या हल गरिनुपर्दछ । निःसन्देह रूपमा ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवाद नै प्रलेसको विश्वदृष्टिकोण हो । सङ्क्षिप्तमा यसलाई माक्र्सवादी वा भौतिकवादी विश्वदृष्टिकोण पनि भन्न सकिन्छ । विश्वदृष्टिकोण भनेको कुनै पनि लेखक वा साहित्यकारले के लेख्ने, किन लेख्ने, केका लागि लेख्ने प्रश्नको समष्टि हो । कला–साहित्य जनताका लागि, परिवर्तनका लागि, रूपान्तरणका लागि हुनुपर्दछ भन्नु पनि त्यही दृष्टिकोणको कुरा हो । यो भनेको कला–साहित्यको वर्गीयता र वर्गीय पक्षधरता विषय पनि हो । त्यसलै अबको प्रलेसमा विश्वदृष्टिकोण समस्या समाधान गरेर जानुपर्दछ । राजनीतिक–वैचारिक क्षेत्रमा अबको प्रलेसले गर्नुपर्ने पहिलो काम पनि यही हो ।

२. साङ्गठनिक प्रश्न

कुनै पनि विचारलाई भौतिक शक्तिको रूपमा अभिव्यक्त गर्ने साधन भनेको सङ्गठन हो । प्रलेस प्रगतिशील लेखकहरूको एउटा साझा वैचारिक संस्था हो । त्यसैले यो साझा वैचारिक मान्यता र एकता–आलोचना–एकताको विधिअनुसार चल्दै आएको छ । प्रलेस विभिन्न विचार, चिन्तन, रुचि र शैलीको साझा संस्था हुनुको नाताले यो सारसङ्ग्र्रहवादीजस्तो पनि लाग्दछ । परन्तु, प्रगतिशील साहित्यकारहरूको साझा कार्यभारहरूको संवहन र साझा हकहितको रक्षा गर्नका लागि प्रलेसले सक्दो भूमिका खेल्दै आएको छ । नेपालमा जे–जस्तो सङ्गठनात्मक संरचनाको प्रयोग हुँदै आएको छ, अब त्यसलाई पुनर्संरचना गर्न आवश्यक छ । राजनीतिक पार्टीदेखि विभिन्न सङ्घ–संस्थाहरू एउटै संरचनामा बाँधिएका छन् । परम्परित अधिकांश संरचना भर्टिकल रहेका छन् । यो भर्टिकल सङ्गठनात्मक संरचनाको मूल अन्तरवस्तु सामन्तवादी छ किनभने यसले माथिका जति सबै अब्बल हुन्, तलका जति सबै कमजोर अर्थात् केही होइनन् जस्तो गरी मनोविज्ञान सम्प्रेषण गर्दै आएको छ । अब यसलाई भर्टिकल र होराइजेन्टल दुवै बनाउन आवश्यक छ । अर्थात् तल र माथि अनि दायाँ र बायाँको सन्तुलन भएको सङ्गठनात्मक संरचनाले मात्र अबको नयाँ चुनौतीको सामना गर्न सकिन्छ । नयाँ–नयाँ समस्याको समाधान गर्न पुराना सङ्गठनात्मक संरचना कामायावी हुन सक्तैन । त्यसैले नयाँ चुनौतीको सामना गर्न सक्ने नयाँ सङ्गठनात्मक संरचनाको निर्माण गर्नु अबको प्रलेसको अर्को कार्यभार हो ।

३. आन्दोलन–सङ्घर्षको प्रश्न

आजको सङ्घर्ष वा आन्दोलनका सबै आयाम भूमण्डलीकृत रहेका छन् । साम्राज्यवादीहरूले जसरी भूमण्डलीकृत रूपमा आइरहेका छन्, हामीले पनि त्यसै गरी आन्दोलनमा पनि जनपक्षीय भूमण्डलीकृत गर्न आवश्यक छ । हुन त दुश्मन आफ्नो किसिमले लड्छ, हामी आफ्नै किसिमले लडिरहेका हुन्छौँ । कुनै पनि राप–ताप पैदा नगर्ने सिर्जनाको कुनै अर्थ हुँदैन । हामी यस्तो मृत कला–साहित्यको पक्षमा छैनौँ । प्रगतिशील÷माक्र्सवादी सिर्जनाको क्षेत्रमा विशाल सङ्ख्यामा साहित्यका विभिन्न विधा तथा साहित्यकारको निर्माण र प्रतिध्रुवीय धाराको तुलनामा गुण तथा सङ्ख्या दुवै दृष्टिले उच्चता हासिल गर्ने अभियानमा प्रलेस समर्थ बन्दै आएको पाइन्छ । नेपालको समकालीन प्रगतिशील साहित्यिक आन्दोलन ‘साहित्यिक सामन्तवाद’ र ‘साहित्यिक साम्राज्यवाद’ रूपी दुई काला पहाडसित जुधिरहेको छ । अझ पछिल्लो चरणमा रातो बर्को ओढेर आएको ‘साहित्यिक साम्राज्यवाद’ अत्यन्त विषाक्त र घातक रूपमा व्यक्त भइरहेको छ । यसलाई निस्तेज पार्ने गरी हामीले सङ्घर्षका नयाँ–नयाँ मोडेलको विकास गर्न आवश्यक छ । प्रतिरोधी संस्थामा बसेर प्रतिरोधको ‘प्र’ पनि उच्चारण गर्न नसक्ने सङ्गठनको कुनै अर्थ हुँदैन । धारिलो, प्रतिरोधी र सत्ताको तावेदारी होइन, खबरदारी गर्न सक्ने प्रलेस आजको आवश्यकता हो । अबको प्रलेसले यो आवश्यकता सम्बोधन गर्न सक्नुपर्दछ । प्रलेसलाई वैचारिकी, सिर्जनात्मक र भौतिकी शक्तिका रूपमा नउठाईकन सामन्तवाद र सामाज्यवादका विरुद्ध सङ्घर्ष गर्न कठीन हुन्छ । सत्ता र शक्तिको आडमा बहुरूपीय बन्दै आएको क्षेत्रीय फासिवाद, राष्ट्रिय सामाजिक फासिवाद तथा सांस्कृतिक राष्ट्रवादका नाममा उठ्न खोज्दै गरेको सांस्कृतिक फासिवादका विरुद्ध प्रलेसले निर्णायक सङ्घर्ष गर्न आवश्यक छ । प्रलेसले लोकसंस्कृतिको वैज्ञानिककतालाई समेट्नुपर्दछ । लेखक–साहित्यकार भनेका साहित्यिक पल्टनका पनि हुन् । यिनका ‘राजनीतिक सेनापति’ र ‘वैचारिक सेनापति’ गरी दुई रूप हुन्छन् । राजनीतिक सेनापतिअन्र्तगत सर्वहारावर्गका अग्रदस्ता पर्दछ भने वैचारिक सेनापतिअन्तर्गत मालेमावाद पर्दछ । आजको मालेमावाद भनेको आजको माक्र्सवाद हो । आजको माक्र्सवादलाई पक्रेर वैचारिक सेनापतिका रूपमा प्रलेसले स्वाधीन राष्ट्र तथा जनताको पक्षमा भूमण्डलीकृत आन्दोलनको विकास गर्नु अर्को कार्यभार हो ।

४. नीति–नेतृत्वको प्रश्न

केही मानिसहरू भन्छन्— नीति र नेतृत्व फरक–फरक हो तर यो बिल्कुल गलत कुरा हो । नीति र नेतृत्व परिपूरक विषय हुन् । नीति र नेतृत्वसित सिङ्गो कार्यदिशा जोडिएको हुन्छ । नीति र नेतृत्वलाई छुट्याएर बुझ्नाले आन्दोलन कमजोर हुने गरेको छ । यसबारे माओले भन्नुभएको छ, “विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबैथोकको निर्धारण गर्दछ । जब पार्टीको कार्यदिशा सही हुन्छ, त्यो बेला सबै चीज प्राप्त हुन्छन्, यदि अनुयायीहरू छैनन् भने ती पनि प्राप्त हुन सक्छन् । यदि बन्दुकहरू छैनन् भने ती पनि प्राप्त हुन सक्छन्, यदि राजनीतिक सत्ता छैन भने त्यो पनि प्राप्त हुन सक्छ, यदि यसको कार्यदिशा गलत छ भने भएका पनि सबै गुम्दछन् । कार्यदिशा भनेको जालको डोरी हो, जब यो तानिन्छ पूरै जाल खुल्दछ ।” सामन्तवाद, साम्राज्यवाद तथा सबैखाले फासिवादका विरुद्ध सङ्घर्ष गर्ने प्रलेसको आधारभूत नीति हो । यसैका आधारमा प्रलेसले प्रतिक्रियावादी राज्यसत्ताद्वारा जनसमुदाय तथा लेखक–कलाकारहरूमाथि गरिने सबै किसिमका दमनको विरोध र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफूलाई उभ्याउँदै आएको पनि छ । अनेकौँ गोष्ठी, विरोध प्रदर्शन, प्रकाशन र वक्तव्य यसका उदाहरण हुन् । कस्तो नीति र कस्तो नेतृत्व भन्ने विषयले आन्दोलनको क्षेत्र निर्धारण हुने गर्दछ । वैचारिक तथा राजनीतिक प्रसारलाई व्यापक बनाउन पनि नीति र नेतृत्वको विषय महत्वपूर्ण हुन्छ । यो कुरा रूपान्तरणका दिशामा रहेका सहायगी पक्षहरूलाई समेट्ने कुरासित पनि सम्बन्धित छ । जनसांस्कृतिक आन्दोलन एउटा दीर्घकालीन मोर्चा भएकोले पनि यसले नीति र नेतृत्वको गुणवेत्ताको खोजी गर्नु अन्यथा हुँदैन । यो कुरा ‘राइट म्यान, राइट प्लेस’ सित पनि सम्बन्धित छ । हामीले ठीक मानिसलाई ठीक ठाउँमा सेट गर्नैपर्दछ । कैयौँ नेतामा सङ्कीर्णतावाद र व्यवहारवाद देखापर्दछ । आन्दोलनमा सङ्कीर्णतावाद र व्यवहारवाद दुवै घातक हुन्छन् । उत्तर–आधुनकितावाद र डेरिडालाई श्रीपेच बनाएर हामीले खोजेको साहित्यिक–सांस्कृतिक आन्दोलन अघि बढ्न सक्तैन । उत्तर–आधुनिकवाद मूलतः सांस्कृतिक साम्राज्यवादको साहित्यिक सिद्धान्त हो । डेरिडा यसका प्रणेता र प्रवक्ता हुन् । यसले उपभोक्ता संस्कृतिको पक्षपोषण गर्दछ । यो बहुलवाद, शङ्कावाद र निराशावाद र विघटनवादसित पनि सम्बन्धित छ । यो त साम्राज्यवादको सङ्कट र समस्याको शास्त्र हो । साम्राज्यवाद पुँजीवाद, संशोधनवाद, फासिवाद, सामाजिक फासिवाद, साम्प्रदायिकवाद, धार्मिक पुनरुत्थानवाद अन्तरघुलित रूपमा रहेको छ । धर्मले विज्ञानको खण्डन गर्न नसकेजस्तै सामाज्यवादका प्रवक्ताहरूले माक्र्सवादको खण्डन गर्न सकेका छैनन् । बहुलवादीहरू कम्युनिस्ट होइनन् । साहित्यक, कला, संस्कृति र सौन्दर्यचिन्तनको असली मापदण्ड ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवाद हो । यो त जनसमुदायको वर्गसङ्घर्षका राजनीतिक तथा कलात्मक मानक हुन् । यो कुरा नीति र नेतृत्वसित अन्तर्सम्बन्धित छ । त्यसैले नयाँ परिस्थितिमा नयाँ नीति र नेतृत्वबारे सुस्पष्ट धारणा बनाउनु प्रलेसको अर्का कार्यभार हो ।

५. सिर्जनाको प्रश्न

नेपालमा १२३ भाषाहरू मातृभाषाको रूपमा बोलिन्छ । तिनमा अधिकांश भारोपेली तथा तिब्बती भाषा परिवारका भाषा रहेका छन् । नेपाल सानो देश भए पनि भाषिक रूपमा विविधतायुक्त छ । नेपालमा सम्पर्कको भाषा भने नेपाली नै रहेको छ । यहाँ नेपालीबाहेक मैथिली, भोजपुरी, थारु, तामाङ, नेवारी, बज्जिका, मगर, डोटेली, उर्दु, अवधि, लिम्बु, गुरुङ, बैतडेली, राई, अछामी, बान्तवा, राजवंशी, शेर्पा, हिन्दी, चाम्लिङ, बझाङी, सन्थाली, चेपाङ, दनुवार, सुनुवार, मगही, उराउ आदि भाषा बोलिन्छन् । भाषा आन्तरिक राष्ट्रियतासित जोडिएको विषय पनि हो । माओले भन्नुभएजस्तै भाषाको सम्बन्धमा कुनै पनि रुखको पात हेर्दा उस्तै देखिए पनि तिनका पात भिन्नाभिन्नै हुन्छ तर पनि यसले समुच्चयमा राष्ट्रियताको भाव वहन गरिरहेको हुन्छ । यसलाई माक्र्सवादी विश्वदृष्टिकोणको आधारमा समाजशास्त्रीय व्याख्या गर्न आवश्यक हुन्छ । आज सिर्जना र संस्कृतिमा हावी भएको बजारवादले अनेकन् समस्या पैदा गरेको छ । प्रलेस सिर्जना र संस्कृतिको क्षेत्रमा हावी हुँदै गएको बजारीकरणका विरुद्ध निर्मम सङ्घर्ष गर्न आवश्यक छ । हामीलाई थाहा छ, प्रलेस कैयौँ सीमासहित यहाँसम्म आइपुगेको छ । प्रारम्भमा यो प्रगतिशीलता–प्रगतिवाद, यथार्थवाद–समाजवादी–यथार्थवादबारे स्पष्ट नदेखिए पनि, कतिपय अवस्थामा प्रगतिशील र प्रतिध्रुवीय धाराबारे केही भ्रमित रहे पनि, दक्षिणपन्थी संशोधनवादका विरुद्धको विचारधारात्मक सङ्घर्षको क्षेत्रमा प्रलेस शिथिलजस्तो देखिए पनि, प्रलेसमा क्रियाशीलताको कमी र सुस्तता रहे पनि साझा मोर्चाको हैसियत र सीमाबद्धताको कारण प्रलेसको निरपेक्ष आलोचना गर्ने स्थिति देखापर्दैन । यो कुरा सिर्जनाको हरेक कुरामा लागू हुँदै आएको छ । तर पनि यसले समग्रमा आफ्ना काम–कारबाहीलाई आफ्नै गति र लयमा अगाडि बढाउँदै आएको छ । प्रलेसले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवाललाई आफ्ना सिर्जनाका माध्यमबाट जे जति विषय मुखरित गर्दै आएको छ, यो सकारात्मक कुरा हो । साझा मोर्चाको रूपमा प्रलेसलाई वैज्ञानिक र प्रभावकारी ढङ्गले विकसित तुल्याउँदै अगाडि बढाउन आवश्यक छ ।

निष्कर्ष

११ औँ राष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा प्रलेससम्बन्धी विभिन्न मत पनि सार्वजनिक भएका छन् । कतिपय मत त सुनियोजित, आयातीत र छ्याङ्छ्याङ्ती प्रायोजित देखिन्छ । प्रलेस एउटा पुरानो साहित्यिक संस्था भएकोले यसमाथि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको गिद्धेनजर उहिल्यैदेखि लागेको हो । अन्तर्राष्ट्रिय शक्तिकेन्द्रले नेपालको कम्युनिस्ट राजनीतिलाई भुइँदेखि नै समाप्त पार्ने गुरुयोजनाका साथ योजनाबद्ध रूपमा आफ्ना कार्यनीति–रणनीतिहरूलाई द्रुतरूपमा अगाडि बढाइरहेको कुरा सुस्पष्ट नै छ । जुनसुकै नियत र कारणबाट आएको भए पनि प्रलेसले यसबाट विचलित हुन सक्तैन । दुनियाँमा प्रश्न गर्न नपाइने कुनै पनि संस्थाको अनुमान पनि गर्न सकिन्न । प्रलेस वास्तविक अर्थमा प्रगतिको संवाहक बन्नका लागि माक्र्सवादी सौन्दर्यचिन्तन र समाजवादी–यथार्थवादको आलोकमा सबै प्रगतिशील साहित्यकारहरूलाई समेट्दै दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवाद र साम्राज्यवाद, विस्तारवाद, नवउपनिवेशवादका विरुद्ध सङ्घर्ष गर्दै अगाडि बढ्न आवश्यक छ । प्रलेस यथास्थितिवाद र पश्चगमन चिन्तनबाट मुक्त हुन आवश्यक छ । साहित्यिक संशोधनवादका विरुद्धको सङ्घर्षबिना प्रगतिशील साहित्यको विकास सम्भव छैन । आउनुस्, प्रलेसलाई प्रतिरोधी साहित्यिक मोर्चाको रूपमा अझ माथि उठाऔँ, प्रलेसलाई दीर्घकालीन साहित्यिक संयुक्त मोर्चाको रूपमा विकास गरौँ ।

 – ननस्टप खबरबाट यो सामग्री साभार गरिएको हो ।