मन्त्री यादवले भोलि हावाहुरी प्रभावित क्षेत्रका बासिन्दालाई खाद्यन्न र लत्ताकपडा दिने

२०७५ चैत्र २०,बुधबार १८:१९

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादव हावाहुरी पिडितका लागि राहत वितरण गर्न आज फेरी बारा जिल्ला गएका छन् ।

हिजो नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसित बारा र पर्सा पुगेका मन्त्री यादव आज फेरी सोही जिल्ला पुगेका हुन् । उनले भोलि हावाहुरी प्रभावित क्षेत्रमा एक हजार भन्दाबढी बोरा चामल लगायतका राहत बाड्दैछन् ।

पीडितहरुलाई जिविकोपार्जनमा समस्या देखिएपछि मन्त्री यादवले आफ्नै पहलमा खाद्यन्नको व्यवस्था मिलाएका हुन् । प्रभावकारी रुवमा पीडितको समस्या समाधान गर्न समेत मन्त्री यादवले भोलि सो क्षेत्रमा आवश्यक छलफल र निर्देशन गर्ने भएका छन् ।

भीआइपी र भीभिआइपीहरुको भीड मात्रै लागेको तर वास्तविक पीडितहरुले कुनै राहत पाउन नसकेको गुनासा बढ्न थालेपछि मन्त्री यादव पुनः त्यस तर्फ गएका हुन् । मन्त्री यादवको सचिवालयले दिएको जानकारी अनुसार, उनले करीव १५ लाख रुपैयाँको खाद्यन्न तथा अन्य राहत सामग्री बाड्नेछन् ।

वास्तविक पीडितहरुले नै राहत सामग्री पाउन् भनेर मन्त्री यादव आफै सो क्षेत्रमा रहनेछन् । सचिवालयका अनुसार, त्यसका निम्ति सरकारी र मन्त्री यादव आवद्ध राजनीतिक दलका २ नं. प्रदेश स्तरका नेता तथा कार्यकर्ता परिचालन गरिएको छ ।