मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम शुभारम्भ, मुख्यमन्त्री पौडेलले गरे उद्घाटन

२०७५, १७ चैत्र आईतवार १०:११

मकवानपुर, १७ चैत । मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रमको ३ नं. प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका छन् । आज पौडेलले कार्यक्रमको उद्घाटन गरेका हुन् ।

शुभारम्भ कार्यक्रममा प्रदेशका अन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, आर्थिक योजनामन्त्री कैलाश ढुङ्गेल, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामालगायतका मन्त्रीहरुको उपस्थितिमा पौडेलले कार्यक्रमको उद्घाटन गरेका हुन् ।

नसर्ने रोगको जोखिम न्यूनिकरण गर्ने, सरुवा रोग एवं महामारीको रोकथाम, उपचार, नियन्त्रण, निवारण र व्यवस्थापनमा विशेष जोड दिने उद्धेश्य यो कार्यक्रमको छ । साथै विपन्न, लोपोन्मुख तथा अल्पसंख्यक जातिहरू, दलित, महिला स्वास्थ्य स्वयंसेविका, सहिद तथा बेपत्ता परिवार, सशस्त्र द्वन्द्वका घाइतेलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्न कार्यक्रम सुरु गरिएको हो ।

प्रदेशसभा सदस्य मुनु सिग्देल, साँसद जुनेली श्रेष्ठ, जिल्ला समन्वय समितिका संयोजक रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबोल महत लगायतकाको उपस्थिति रहेको थियो ।