नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला चैत १४ देखि सुरु हुने

२०७५ चैत्र १२,मंगलवार १६:४३

काठमाडौँ, १२ चैत्र । नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्न स्थानीय भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला यही चैत्र १४ गतेदेखि चैत्र १८ गनेसम्म सञ्चालन हुने भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग तथा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धन, ललितपुर उद्योग वाणिज्य महासंघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा हुने उक्त मेलामा २२५ बिक्री तथा प्रदर्शनी कक्षमार्फत स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिनेछ । मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माण, शिक्षालगायत विधागत क्षेत्रका छुट्टाछुट्टै स्टल रहनेछ ।

मेलामा भारत, चीन, बङ्गलादेश, पास्तिानलगायत मुलुकका उद्यमी व्यवसायीको सहभागिता हुने महासंघद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । मेलामा ८५ बढी स्वदेशी तथा चीनका ९०, भारतका १० र बङ्गलादेशका ४० वटा स्टल रहनेछन् ।
मेलाको सम्पूर्ण तयारी सम्पन्न भएको महासंघले जनाएको छ । स्वदेशी र विदेशी गरी करीब एक लाखले मेला अवलोकन गर्ने अनुमान गरिएको छ ।