मुस्लिम आयोगका अध्यक्ष अन्सारीविरुद्ध सर्वाेच्चमा रिट दायर

२०७५ चैत्र १०,आईतवार १६:४३

काठमाडौं १० चैत्र । हालै मुस्लिम आयोगमा नियुक्त भएका समिम मियाँ अन्सारीविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा दायर भएको छ । कपिलबस्तुका अब्दुल सलामले उत्प्रेषण, परमादेशलगायतका आवश्यक र उपयुक्त आदेशको माग गर्दै आइतबार सर्वाेच्च अदालतमा रिट दायर गरेका हुन् ।

अन्सारीविरुद्ध संसदीय सुनुवाई विशेष समितिमा नागरिकता र शैक्षिक प्रमाणपत्रको विषयलाई लिएर उजुरी परेको थियो । तर सो उजुरीको कुनै सुनुवाई नभई सरकारले सिफारिस गरेको ४५ दिनपछि स्वतः अनुमोदिन भएका थिए । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले चैत ७ गते सपथ गराएकी थिइन् ।

अन्सारीको नियुक्तिबारेको विवादको टुंगो लगाउने अधिकार नेपालको संविधानको धारा १३३ (९२) बमोजिम सर्वाेच्च अदालतलाई भएकाले धारा १३३ (३) बमोजिम निजको सिफारिश र नियुक्तिको निर्णय बदर गराउन उत्प्रेषण परमादेशको माग गरिएको छ ।