सबै विद्यालयमा राष्ट्रिय झण्डा अनिवार्य गर्ने तयारी

२०७५ चैत्र ७,बिहीबार १४:४४

काठमाडौँ, ७ चैत्र । काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयमा राष्ट्रिय झण्डा र देवनागरिक लिपिमा नाम अनिवार्य गर्ने तयारी गरेको छ । पछिल्लो समय धेरै विद्यालयले अंग्रेजी नाम राखेको पाइएको हुँदा ती सबै विद्यालयले देवनागरिक लिपिमा पनि नाम राख्न अनिवार्य गरिएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार राष्ट्रको सम्मानको लागि निजी र सामुदायिक सबै विद्यालयले अनिवार्य रुपमा विद्यालयको प्राङ्गणमा झण्डा राख्नुपर्ने छ ।

त्यसैगरी महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि अनिवार्यरूपमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । महानगरपालिकाका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार महानगरभित्र रहेका सबै सामुदायिक र निजी विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको जानकारी दिए ।

हाल कामपामा ९१ सार्वजनिक र करीब ६४३ संस्थागत विद्यालय सञ्चालनमा रहेका छन् । ती विद्यालयमा एक लाख ६५ हजार बालबालिकाले अध्ययन गर्दै आएका छन् । गोर्खा भूकम्पका कारण विद्यालयको भौतिक संरचनामा क्षति पुगेपछि कतिपय विद्यालय एउटै भवनमा बिहान र दिउँसो गरी दुई समयमा सञ्चालन हुँदै आएको छ ।