मातृभूमि मकवानपुरद्वारा विभिन्न विधाका व्यक्तिहरुलाई पुरस्कार तथा सम्मान गर्ने घोषणा

२०७५, ७ चैत्र बिहीबार ११:११

मकवानपुर ७ फागुन । मातृभूमि साहित्य समाज मकवानपुरले २०७५ को केशबलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार प्रहरखबर डटकमका प्रधानसम्पादक भानुभक्त आचार्यलाई प्रदान गर्ने भएको छ । समाजको गत चैत २ गतेको बैठकले पत्रकार महासंघ मकवानपुरका पूर्बअध्यक्ष अचार्यसहित बिभिन्न व्यक्तित्वलाई सम्मान गर्ने निर्णय गरेको हो ।

चैत १६ गते शनिबार हेटौंडामा बिभिन्न बिधाका व्यक्तित्वलाई पुरस्कार तथा सम्मान समर्पण गरिने समाजका महासचिव मनोज ढुँगानाले बताए । समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार ह्यग्रीब आचार्यका अनुसार केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०७५ (नगद ७ हजार ५ सयसहित) प्रधानसम्पादक आचार्य (मकवानपुर) लाई प्रदान गरिने भएको छ ।

अन्य पुरस्कारतर्फ मातृभूमि राष्ट्रिय पुरस्कार २०७४ (नगद २१ हजार १ सहित) डा. तुलसी भट्टराई (काठमाडौं), शेखर शर्मारिजाल स्मृति मातृभूमि शैक्षिक पुरस्कार २०७३ (नगद १५ हजारसहित) शिक्षासेवी देवप्रसाद श्रेष्ठ तथा बद्री खतिवडा (मकवानपुर), शेखर शर्मारिजाल स्मृति मातृभूमि शैक्षिक पुरस्कार २०७४ (नगद १५ हजारसहित) शिक्षासेवी बनमाली सुबेदी तथा सजनी गोर्खाली (मकवानपुर) लाई प्रदान गरिने निर्णय समाजले गरेको छ ।

सम्मानतर्फ हातेमालो मातृभूमि युवा सिर्जनशील सम्मान २०७४ (नगद १० हजार १ सहित) सानुभाइ बिश्वकर्मा (मकवानपुर), क्षेत्रबहादुर स्मृति मातृभूमि सम्मान २०७४ (नगद १० हजारसहित) संस्कृत वेद विद्यालय (हेटौंडा–१०, मकवानपुर), राजकुमार स्मृति मातृभूमि सम्मान २०७५ (नगद १० हजार १ सहित) उषा तिवारी (चितवन) लाई प्रदान गरिने निर्णय भएको महासचिव ढुँगानाले जानकारी दिए ।