हेटौंडामा आजबाट राष्ट्रिय फुटबल सुरु हुने

२०७५ चैत्र ७,बिहीबार १०:३९

मकवानपुर ७ फागुन । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ आजबाट सुरु हुँदैछ ।

हेटौंडा–१० स्थित वनविज्ञान मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा मकवानपुर–११ र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उद्घाटन ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले गर्ने कार्यक्रम रहेको छ ।

चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ । प्रतियोगितामा दश टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा आयोजक, एक विदेशी र आठवटा नेपालका चर्चित ‘ए’ डिभिजन क्लबको सहभागिता रहने भएको हो ।

प्रतियोगितामा आयोजक, दाफिन्स र थ्रीस्टार, आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, मच्छिन्द्र, हिमालयन शेर्पा, सरस्वती र च्यासल युथ क्लब सहभागी हुने भएको हो ।

प्रतियोगिताका विजेता तथा उपविजेताले नगद क्रमशः ८ लाख रुपियाँ र ४ लाख रुपियाँ प्राप्त गर्नेछ । प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडीलाई ७५ हजार रुपियाँ र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही २०÷२० हजार रुपियाँको व्यवस्था गरिएको आयोजक समितिका अध्यक्ष टीकाराम लामाले जानकारी दिए ।