अन्नपूर्णको समाचार – अब जनमत संग्रह : शशांक कोइराला

२०७५ चैत्र ७,बिहीबार ०८:३३
फोटो : अन्नपूर्ण पोष्ट

काठमाडौं : कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले गणतन्त्र, संघीयता र धर्मका बारेमा जनमत संग्रह गर्नुपर्ने बताएका छन्। होलीका अवसरमा बुधबार आफ्नै निवासमा आयोजित कार्यक्रममा कोइरालाले भने, ‘धर्म निरपेक्षता मात्रै होइन, संघीयता र गणतन्त्रबारे जनमत संग्रह गरेर जनताको इच्छा बुझ्न आवश्यक हुन्छ र सकिन्छ। धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रका लागि जनमत लिनुपर्छ।’ कांग्रेस नेतृत्वको सरकारले नै संविधान जारी गरेर मुलुक गणतन्त्रमा गई कार्यान्वयन भइरहेको अवस्थामा कोइरालाले संघीयता र गणतन्त्रबारे जनमत संग्रह गर्नुपर्ने धारणा व्यक्त गरेका हुन्। कोइरालाका अनुसार धर्म निरपेक्ष वा सापेक्ष हुन सक्दैन, आजको अन्नपूर्ण पोष्ट मा समाचार छ ।

महामन्त्री कोइरालाले धर्म निरपेक्षताका विषयमा जनमत संग्रह गर्नुपर्ने धारणा यसअघि पनि व्यक्त गर्दै आएका थिए। संघीयता र गणतन्त्रबारे जनमत संग्रह गर्नुपर्ने अभिव्यक्ति भने उनले पहिलोपटक सार्वजनिक गरेका हुन्। आफूलाई मत दिएकामध्ये ८० देखि ९० प्रतिशत हिन्दु धर्म मान्ने भएकाले हिन्दु धर्मकै पक्षमा रहेको उनले बताए।