इन्डोनेसियामा बाढीमा परी ६३ जनाको मृत्यु, कैयौँ बेपत्ता

२०७५ चैत्र ३,आईतवार १७:१४

जाकार्ता, ३ चैत्र । अत्यधिक बर्षाका कारण इन्डोनेसियाका पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा शनिबार राती आएको बाढी पहिरोमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको छ ।

प्रकोपमा परी २१ जना गम्भीर घाइते भएका छन् भने अरु १८ जना सामान्य घाइते भएका प्रान्तीय प्रकोप व्यवस्थापनले जनाएको छ ।

बाढीबाट प्रभावित भएकाहरुमध्ये तीन हजार जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

घटनामा परी अरु कैयौँ बेपत्ता भएका र घटनाबाट प्रभावितहरुलाई खोजी तथा उद्धार र राहत वितरण कार्य भइरहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।