राष्ट्रियसभाको बैठकले चार विधेयक स्वीकृत

२०७५ फाल्गुन ३०,बिहीबार १६:३९

काठमाडौं, ३० फागुन । राष्ट्रियसभाको आजको बैठकले चार विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । ती विधेयकमा ‘विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक, २०७५’ र ‘भू–उपयोग विधेयक २०७५’ छन् ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक, २०७५ र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले भू–उपयोग विधेयक प्रस्तुत गरेका थिए ।

बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सार्वजनिक ‘सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक, २०७५’ र राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) २०७५’ विधेयक पनि स्वीकृत गरेको छ ।

प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय, संसदीय मामिलामन्त्री भानुभक्त ढकालले बैठकमा प्रदेश लोकसेवा आयोगसम्बन्धी विधेयक प्रस्तुत गरेका थिए । यसैगरी बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक प्रस्तुत गरेका थिए । राष्ट्रियसभाको अर्काे बैठक चैत ४ गते अपराह्न १ बजेको लागि बोलाएको छ ।