कविता : पिलो

२०७५ फाल्गुन ३०,बिहीबार १२:०६

एसके निधन/

कमरेड !
बिनासित्ति किन च्याँठ्ठिएको ?

बर्षौ देखि
स–शुल्क बाँडिएका
–फिंज सुकाएर साबुन
–ढुङ्गो च्याँतेर भुवा
–पानी पकाएर खुवा
….

एैजन –एैजन सपनाले
ढुस्स फुलेर भुडि
ढ्याउ–ढ्याउति झुसे डकार
डकार्नुको बिकल्प न खोजेको हुँ ।

….
झण्डाबाट झिकेर हँसिया
खोरिया फाड्छु भनेको न हुँ
थुतेर हतौंडा त्यहि झण्डाको
गिट्टि कुट्छु भनेको न हुँ
मेरै झुपडीको छानोमा फर्फराएको त्यहि रातो झण्डा च्यातेर
श्रीमतीलाई पेटिकोट र छोराछोरीलाई झोला
सिलाईदिन्छु भनेको न हुँ
वा भनौ
आस्थाको त्यही झण्डालाई
बनाउछु भनेको न हुँ जिवनबुटी ।

तर तिमी
भयानक कुठराघात सम्झन्छौ
क्रान्तिचेत धर्मराएको देख्छौ

वा फसेको देख्छौ मलाई पुजिँबादको चङ्गुलमा


आरोप लगाउछौ साँगठानिक अपराधको ।

अझै पनि  क्रान्ति तिमिले भने जस्तो
किताबमात्रै हो र जिवन होईन भने
भो कमरेड !
मलाई चहिएन अब
सुत्केरि आमाको स्तनको मुण्टोमा
वा
सुहागरातकी ब्याउलिको योनिडिलमा
उम्रीएको पिलो जस्तो
लालक्रान्तिकारिता ।