भीमफेदी गाउँपालिकाद्वारा एनसेल र एनटिसिसँग अर्थिङको “रेशिष्टेन क्यापसिटि रिर्पोट” माग

२०७५ फाल्गुन १९,आईतवार १५:१८

मकवानपुर, १९ फागुन । भीमफेदी गाउँपालिकाले आफ्नो गाउँपालिका क्षेत्रमा रहेको नेपाल टेलिकम तथा एनसेलको टावर क्षेत्रको अर्थिङ “रेशिष्टेन क्यापसिटि रिर्पोट” माग गरेको छ ।

आज सूचना प्रकाशित गर्दै गाउँपालिकाले नेपाल टेलिकम तथा एनसेलसँग “रेशिष्टेन क्यापसिटि रिर्पोट” माग गरेको हो । मकवानपुर जिल्ला चट्याङ्को उच्च जोखिममा रहेको नेपालकै पाँचौ जिल्ला रहेको जिल्ला भएको हुँदा गाउँपालिकाले चट्याङको क्षति न्युनिकरणको लागि यस्तो रिर्पोट माग गरेको हो ।

प्रत्येक टावर क्षेत्रमा रहेको अर्थिङको “रेशिष्टेन क्यापसिटि” ५ ओम युनिट भन्दा कम हुनुपर्नेमा कति छ भन्ने विषयमा हालसम्म सम्वन्धीत निकाय अनविज्ञ रहेको भन्दै टेलिकम कम्पनीहरुसँग “रेशिष्टेन क्यापसिटि रिर्पोट” माग गरेको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताए ।

५ ओम युनिट भन्दा बढी हुँदा त्यस क्षेत्रमा चट्याङको जेखिम बढने भन्दै आफुहरुले चट्याङबाट हुने क्षतिलाई कम गर्न यस्तो प्रकारको कदम चालेको लामाको भनाई रहेको छ । मानिसको जीवनसँग कसैले पनि खेल्न नसक्ने भन्दै उनले गाउँपालिकाले यस्तो कदम चालेको बताए ।

गाउँपालिकाले चट्याङ जोखिम न्युनिकरण कार्यक्रम गरिरहेको बताउँदै लामाले ५ ओम युनिट भन्दा धेरै भएको पाईएमा त्यसलाई कम गरिने समेत बताए ।