हेटौंडामा हुने भनिएको राष्ट्रिय फुटबल प्रतियोगिताको मिति सर्याे

२०७५ फाल्गुन १९,आईतवार १४:०९

मकवानपुर १९ फागुन । फागुन अन्तिम साताबाट हेटौंडामा हुने भनिएको राष्ट्रिय फुटबल प्रतियोगिताको मिति सरेको छ । विराटनगरमा हुने महिला साफ फुटबल प्रतियोगिता, माइ भ्याली गोल्डकप फुटबल प्रतियोगिताका कारण प्रतियोगिता एकसाता पर सरेको हो ।

यसअघि फागुन २९ गतेबाट चैत ९ गतेसम्म सञ्चालन हुने भनिएको प्रतियोगिता अब चैत ७ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने भएको हो । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगिताको तयारी आयोजकले सुरु गरिसकेको छ । प्रतियोगितामा १० वटा टिम सहभागी हुनेछन् । प्रतियोगितामा ८ वटा ‘ए’ डिभिजन क्लब, १ वटा विदेशी र आयोजक टोली सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेताले नगद ८ लाख रुपैयाँ र उपविजेताले नगद ४ लाख रुपैयाँ प्राप्त गर्ने जिल्ला फुटबल संघ मकवानपुर अध्यक्ष टिकाराम लामाले जानकारी दिए । अध्यक्ष लामाका अनुसार प्रतियोगितामा ‘ए’ डिभिजन क्लबहरुमा थ्रीस्टार, नेपाल आर्मी, नेपाल प्रहरी, हिमालय शेर्पा, संकटा क्लब, सशस्त्र प्रहरीको एपीएफ, च्यासल र सरस्वती युथ क्लब रहेका छन् । अफ्रिकन टोली डफिन्स र आयोजक मकवनपुर ११ ले प्रतियोगितामा सहभागीता जनाउने भएका छन् ।

यसअघि हेटौंडामा खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा हेटौंडा गोल्डकप प्रतियोगिता सञ्चालन हुँदै आएको भएपनि यसवर्षबाट प्राविधिक कारणले खेल आयोजकले स्थगित गरेपछि फुटबल संघले प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।