प्रदेश नं १ का १ सय ३५ जना प्रहरी दीक्षित

२०७५ फाल्गुन १७,शुक्रबार १५:४३

विराटनगर, १७ फागुन । प्रदेश नं १ प्रहरी तालीम केन्द्र विराटनगरको १३६ औँ समूहको प्रहरी जवान आधारभूत तालीमबाट १३५ जना प्रहरी आज दीक्षित भएका छन् ।

वि.सं. २०७५ जेठदेखि सञ्चालित उक्त तालीममा १९ महिलासहित १३५ जनाले २१९ दिन सङ्गठनको परिचय, सुरक्षा, प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान, शारीरिक व्यायाम तथा चाँदमारी र कवाजमा प्रशिक्षण पाएका थिए ।

सो अवसरमा प्रदेश नं १ का प्रहरी नायब महानिरीक्षक केदार रिजालले उत्कृष्ट हुने तालीमका सहभागीलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्दै नागरिकलाई केन्द्रमा राखी राष्ट्रको सर्वाेपरी हितमा कार्य गर्न निर्देशन दिए । तालीममा पुरुषतर्फ राजेन्द्र ताजपुरिया र महिलातर्फ लक्ष्मीकुमारी थारु उत्कृष्ट भएका थिए ।

यसैगरी चाँदमारीमा मोनराम राई शारीरिक व्यायाममा अजय राई, प्रहरीयुक्ति तथा कारबाहीमा आशिष लिम्बू र अध्ययनमा आदित्यमणि तिवारी प्रथम भएका थिए । तालीम केन्द्रको ५३ औँ वार्षिकोत्सवका अवसरमा विभिन्न खेलकूद कार्यक्रमको समेत आयोजना गरिएको थियो ।