भाषाशास्त्री पोखरेलको निधन

२०७५, १२ फाल्गुन आईतवार १२:३८

मकवानपुर १२ फागुन । नेपाल प्रज्ञा प्रतिष्ठानका आजिवन सदस्य तथा भाषाशास्त्री बालकृष्ण पोखरेलको निधन भएको छ ।

उच्च रक्तचाप, मधुमेह, मुटु र मस्तिष्क पक्षघातबाट पीडित पोखरेलको विराटनगरस्थित आफ्नै निवासमा ८६ वर्षको उमेरमा निधन भएको उनका छोरा मुनाल पोखरेलले जानकारी दिए । मकवानपुर चिसापानीगढीमा जन्मिएका पोखरेलका ११५ प्रकाशित कृतिहरुमध्ये खस जातिको इतिहास, ५०० वर्ष र नेपाली बृहत् शव्दकोष आदि चर्चित कृतिहरुका रुपमा रहेका छन् ।
भाषाशास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गरेका पोखरेले विसं २०१९ देखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन कार्यमा संलग्न थिए । वि.सं. २०२७ देखि २०३६ सम्म महेन्द्र मोरङ र पछि स्नातकोत्तर क्याम्पसमा प्राध्यापन गरेका पोखरेलले विसं २०४६ मा अवकाश लिएका थिए । उनी विसं २०३६ देखि २०४१ सम्म नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य समेत थिए ।

उनको पार्थिव शरीरमा स्थानीय साहित्यकार, कवि, पत्रकार, समाजसेवीले श्रद्धा अपर्ण गरिरहेका छन् । उनको आजै स्थानीय परोपकार घाटमा दाहसंस्कार गरिने बताइएको छ ।