मकवानपुरगढी–६ का टोल विकास संस्थाहरुको विधान हस्तान्तरण

२०७५ फाल्गुन ६,सोमबार १४:५३

मकवानपुर ६ फागुन । मकवानपुरगढी वडा नं ६ ले वडाभरी रहेका टोल विकास संस्थाहरुको विधान हस्तान्तरण एवं प्रमाणपत्र वितरण कार्यक्रम आज सम्पन्न गरेको छ ।

वडा अध्यक्ष टीका प्रसाद दहालको अध्यक्षतामा बसेको भेलामा वडाका ६ वटै टोल विकास संस्थाका अध्यक्ष एवं पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

वडाको समानुपातिक विकास र जनसहभागितामा आधारित विकास कार्यलाई तीब्रता दिन टोल विकास संस्था गठन गरिएको अध्यक्ष दाहालले बताए ।

वडामा जनएकता टोल विकास संस्था, डुम्रेकुना टोल विकास संस्था, सम्बृद्धि टोल विकास संस्था, जनजागृति टोल विकास संस्था, आमभज्याङ टोल विकास संस्था, नवदुर्गा टोल विकास संस्थागरी ६ वटा टोल विकास संस्था रहेका छन् ।

टोल विकास संस्था गठन भएपछि वडामा रहेका विकास निर्माण र योजना कार्यान्वयनमा सहजता आएको सम्बृद्धि टोल विकास संस्था संस्थाका अध्यक्ष बद्री दाहालले बताए ।

भेलामा अध्यक्ष दाहालले टोल विकास संस्थाका अध्यक्षहरुलाई यस वर्षको बजेटमा वडाले कुन–कुन शीर्षकमा कति–कति बजेट बिनियोजन गरेको छ भन्ने बारेमा अभिमुखीकरण समेत गरेका थिए । कार्यक्रममा डुम्रेकुना टोल विकास संस्थाका अध्यक्ष नरबहादुर स्याङ्तानलगायतका आ–आफ्ना धारणा ब्यक्त गरेका थिए ।