जिउँदै बैकुण्ठमा (यात्रा संस्मरण)

२०७५ फाल्गुन ४,शनिबार ०७:३२

नेपाल ढुङ्गे युगदेखि नै विभिन्न धार्मिक तथा तपोभूमिको नामले चिनिँदै आएको कुरा त सर्वविदितै छ । आफ्नै मौलिक कला, धर्म, संस्कृति, ऐतिहासिक तथा पुरातात्विक सम्पदाको कारणले नै मकवानपुर लगायत अन्य ठाउँहरुमा आफ्नो चिनारी कायम राख्न निकै तल्लीन रहेको गाउँ हो बैकुण्ठ, जुन मकवानपुरको पश्चिमी क्षेत्र अन्तर्गत कैलाश गाउँपालिकामा पर्दछ । जहाँ छ तामाङहरुको बस्ती र चेपाङ्हरुको उत्गमस्थल ।

प्रलेस गाउँ जागरण अभियान अन्तर्गत हेटौँडाबाट केही साहित्यकारको टोली लिएर म उपाध्यक्ष तर त्यस दिनको कार्यबाहक अध्यक्षको संयोजकत्वमा साहित्यक गन्तव्य बनाउँदै हाम्रा पाइलाहरु त्यसतर्फ उन्मुख भए । हामी पहिलो दिनअर्थात माघ १८ गते हेटौँडाबाट बैकुण्ठका लागि बस चढ्यौँ । हामी १३ जनाको टोली विहान ११ बजे रिजर्भ बसमा चढी पालुङ हुँदै डाँडाबासको पहाडको टुप्पोभएर हरिया वनहरु तथा मनमोहक दृश्यको साथमा नागबेली बाटोमा झ्याइकुटी खेल्दै जानुको मज्जा नै बेग्लै हुँदो रहेछ । प्रत्येक मोडमा साथीहरुको अब कति बाँकी छ भन्ने आवाज मात्र सुन्न पाइन्थ्यो तर मलाई भने जति नै बेर लागेपनि त्यो दृश्यले लोभ्याइरहेको थियो । गाडीको बेग कुनै कछुवाको भन्दा फरक थिएन यो मानेमा कि भर्खर खोलिएको बाटो त्यहीमाथि नानगबेली र खाल्डाखुल्डी । सूर्यले पनि आफ्नो हात हल्लाउँदै “मेरो गन्तव्य आइपुग्यो तपाईँहरु विस्तारै जानुहोला है ” भन्नसमेत भ्यायो । पालाङको खाजाले पनि बाटैमा छाडेर गयो । बेलाबेलामा “म यही ठाउँमा आजभन्दा ११ वर्ष अगाडि आएर काम गरेको थिएँ आरपीमा” भनेर रमेशमोहन सरले भन्नुभयो ।

बाटोमा हरियाली चुचुरा, माटा र ढुङ्गाका स–साना घरले बनेका वस्ती र किनारमा निला–सेता रङ निकाल्दै बगिरहेको त्यस ठाउँहरु हाम्रा साथी थिए । कति ठाउँमा मुस्किलले पाइलो हाल्न मिल्ने चट्टानी भीर थिए जहाँ । अब धेरै छैन आइपुग्न आट्यो भनेको पनि १५ पटक भइसकेको थियो गुरुजीले । साथीहरु नौलो ठाउँ भएर होला निकै आतुरमा हुनुहुन्थ्यो । साँझको सात बजे हाम्रो यात्रालाई पनि विश्राम दियो बसले । स्वागतका लागि बसेका ती केटाकेटी देख्दा साच्चै हाम्रो यात्रा सार्थक भएको महशुस ग¥यौँ हामीले । थाकेको ज्यानले होला मिठो भात त्यहीमाथि ढिँडो खानेलाई ढिँडो र गुन्द्रुक अनि कोहीले त मकै भटमासलाई रोजेर आफ्नो पेट भर्नुभएको थियो भने काठमाडौँबाट आउनुभएका थेबा र हाम्रा केही साथीहरुले कोदोको खाट्टीसमेत चाख्न भ्याउनु भयो । त्यहाँको खाना, खसीको मासु, सिस्नो र सफा ओछ्यान पाएपछि त्यस दिन हाम्रो बनिहाल्यो । यात्राको सबैभन्दा अविस्मरणीय सत्कार र आरामदायी बसाई भयो त्यो हाम्रा लागि । पहाडको खोल्सामा निलो रङले सल्बलाई रहेको देखिने आकाश तथा थुम्काहरुले सबै बाटाभरका थकानमा मलमपट्टिको काम गर्यो हामीलाई ।

यात्राका दोस्रो दिन हामी थकानबिच पनि उत्साहित थियौँ । सबेरै त्यहाँबाट उकालो उकालो लागेका हामी करिब १ घण्टाको यात्रापछि सबैभन्दा उचाइमा रहेको बैकुण्ठमा पुग्यौँ । बैकुण्ठ एउटा सानो थुम्कोमा निर्मित रहेछ । त्यो ठाउँ जहाँबाट अन्नपूर्ण हिमालको सुन्दर दृश्यको साथसाथै धादिङको सिमाना र राक्सिराङ गाउँपालिकाको सिमानाका लोभलाग्दो दृश्यहरु भेटिँदा रहेछन् । हाम्रो राजनीति र सामाजिक विकासमा इतिहासजत्तिकै भूगोल पनि जोडिएको छ । त्यसैले हिमाल चिन्नु भनेको हामी आफैँलाई चिन्नुसमेत हो । हिमाल सजावटका वस्तु मात्रै होइनन् ः तिनको आफ्नै व्यक्तित्व र जीवन छ । सभ्यताको विकासमा तिनको विशेष स्थान छ । हिमालले महत्त्वपूर्ण भू–भाग ओगटेको मुलुकका नागरिक हामीले हिमाललाई कति नजिकबाट चिनेका छौँ ? खुलेको आकाशमा टाढैबाट पनि देखिने रमणीय हिमालहरू हामीले हेरौँ एकपटक । अलिपर देखिने निलो आकाशले हामीलाई उर्जा थप्ने काम ग¥यो र लागे साथीहरु सेल्फीमा । लगभग आधा घण्टाजति ओरालो ओरालो लागेपछि कैलाशको शिव लिङ्ग र पार्वतीको गुफा अनि चेपाङको उत्गमस्थल हेर्नका लागि ३ नं. प्रदेश सभा सदस्य ओम घलानसहितको टोली हानियो ।

तालको र गुफाको वरपर २५–३० घर मिलेर कैलाश गाउँ बनेको रहेछ । यस क्षेत्रलाई पर्यटकीय स्थलको साथसाथै होमस्टेको पनि व्यवस्था गाउँपालिकाका अध्यक्ष र गाउँबासीको पहलमा निर्माण हुन लागेको रहेछ । होमस्टे निर्माण गरी सांस्कृतिक प्रदर्शनी तथा स्थानीय खानाको स्वाद चखाउन र पर्यटकलाई बसोबासको राम्रो व्यवस्था गर्नका लागि करिब २० लाखको लगानीमा होमस्टे निर्माण गर्न लागेको कुरा पनि जानकारीमा आयो । त्यो सुन्दा निकै उत्साहित भयौँ हामी । होमस्टेमा आउने आन्तरिक पर्यटकहरुलाई सिस्नोको खोले, लोकल कुखुराको मासु, फापरको ढिँडो तथा स्थानीय मदिराको स्वाद चखाउने कुरा पनि गर्न भ्याउनु भयो उहाँहरुले । यसै वर्ष कैलाश बैकुण्ठ पर्यटन विकासको डिपिआर निर्माण गर्न लागेको कुरा पनि थाहा पाइयो । सबै ठाउँको अवलोकन, ऐतिहासिक विष्णुकुण्ड, गुफा, तामाङ जातिको परम्परागत सांस्कृतिक सम्पदा तथा चेपाङको उत्गमस्थल रहेका कारण त्यस ठाउँको भविष्य रहेको देखियो । धादिङको बेनीघाट रोराङ गाउँपालिकासँग जोडिएको बैकुण्ठमा काठमाडौँ, धादिङ र चितवनबाट आन्तरिक पर्यटकलाई ल्याउन सकिने सम्भावना रहेछ । धादिङको बेनीघाट रोराङ गाउँपालिकासँग सडक जोड्ने क्रम पनि जारी रहेछ । त्यसो गर्न सकिएमा एक घण्टामै धादिङको गजुरी जान पनि सकिने रहेछ । लगभग ११ बजेतिर हामीले हाम्रो घुमाइलाई विश्राम दियौँ र लाग्यौँ पेट पूजातिर ।

पेट पूजा पछि हाम्रो उद्देश्यमा केन्द्रित भएर प्रलेस गाउँ जागरण अभियानमा लाग्यौँ । प्रदेश नं. ३ का प्रदेश सभा सदस्य ओम घलान (प्रदिप वालाचन) को ‘नलेखिएका गाथाहरु ’ को विमोचन ग¥यौँ । त्यसपछि हेटौँडाबाट गएका साहित्कारहरुको ११ थान रचना सुन्यौँ जसमा रमेशमोहन अधिकारी, अनिता न्यौपाने, जनार्दन खनाल, सानुभाइ विश्वकर्मा, केशव समर्पण, मसान उपासक, अनिश न्यौपाने भावना, अनिशा पुडासैनी, गङ्गा सापकोटा, पूजा सुबेदी र मेरो पनि रहेको थियो । काठमाडौँबाट आएका मुक्तान थेबा र माधव घिमिरे अटलको पनि कविता सुन्न पाइयो । लगभग २ घण्टाको औपचारिक कार्यक्रम पछि हामीलाई आउन आतुर भइरहेको थियो र सोहीअनुरुप दिउँसोको ३ बजे फिर्ताका लागि हाम्रा यात्रा पुनः त्यही बसमै भयो । चिनिसकेको बाटो भएकाले हामीलाई जाँदाजस्तो त्यति अत्यास लागेन । डाँडाबास आउँदा सूर्यले पुनः हात हल्लाउँदै “म त गएँ तपाईँहरु पनि छिट्टै जानुस् है” भन्यो । डाँडाबासमा खाजा खाएपछि हाम्रो गन्तव्य हेटौँडाका लागि हानियो । पालुङ, दामन र सिमभञ्ज्याङको चिसो चिसो बतास खाँदै हेटौँडा आएकै पत्तो भएन । रातको १० बजे हेटौँडाले हाम्रो स्वागतका लागि मुस्कान छाडिरहेको रहेछ ।

वास्तवमा सांस्कृतिक रूपमा पनि यस्ता प्राकृतिक सम्पदालाई सम्मान र पूजा गर्ने मौलिक परम्पराको घर हो, नेपाल । हाम्रा सबै समुदायका निम्ति खोला, वन, पहाड र हिमाल भनेका पवित्र सम्पदा मात्रै होइनन् जीवन र मृत्युका वास्तविकता पनि हुन् । त्यसैले आफ्नो देशको विकास गर्न पहिलो हामी आफैँ लाग्नुपर्छ र अरुलाई पनि आग्रह गर्नुपर्छ ।