भीमफेदीको किसेडीदेखि घैराङ्ग जोड्ने सडक उद्घाटन

२०७५ फाल्गुन ३,शुक्रबार १८:०९

मकवानपुर, ३ फागुन । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. १ किसेडी, देउरालीदेखि वडा नं. ९ स्यार्से हुँदै कैलाश–९, घैराङ्ग जोड्ने सडकको शुक्रबार उद्घाटन तथा सम्मान कार्यक्रम भएको छ ।

नेपाली कांग्रेस साविक नामटार सभापति रामकृष्ण थापाको सभाध्यक्षता तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा सडक उद्घाटन तथा सम्मान कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिनाले विकास निर्माण कार्यमा कम्युनिष्टले कहिल्यै ध्यान नदिएको बताउँदै कांग्रेसले जित्दा विकास निर्माणमा आमूल परिवर्तन गर्ने बताएकी छिन् । अहिले कांग्रेस सरकारमा नहुँदामा पनि यो क्षेत्रमा लाखौ रकम खर्चिएर काम गरिरहेको बताउँदै कम्युनिष्टहरु काम भन्दा बढी आश्वासन मात्रै दिने गरेको बताएकी छिन् ।

त्यसैगरी विशिष्ट अतिथि नेपाली कांग्रेस ३ प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँले आफूले जितेपछि गाउँ–गाउँमा विकास निर्माणमा लाग्ने क्रममा भीमफेदी वडा नं. १ किसेडीदेखि स्यार्से हुँदै घैराङ्गसम्मको ६ किलोमिटर सडकमा आफूले मेशिन निशुल्क सहयोग गरेको बताए ।

स्थानीय निकायदेखि केन्द्रसम्म कम्युनिष्ट सरकारको दुईतिहाई हुँदापनि थोरै रकमसमेत सहयोग गर्न नसकेको बताउँदै आफूले अहिलेसम्म व्यक्तिगत १५ लाखभन्दा बढी रकम बराबरको मेसिन सहयोग गरेको उनले बताए ।

५ किलोमिटर बाटो निर्माण कार्य सम्पन्न भैसकेको सो सडक घैराङ्गसम्म पुग्न अझै २ किलोमिटर निर्माण कार्य भैरहेको छ । सुरुमा सडक निर्माणमा कांग्रेस केन्द्रीय सदस्य उपाध्यायले १ लाख, नेता बानियाँले १५ लाख बराबर रकमको मेशिन सहयोग, भीमफेदी गाउँपालिकाबाट ४ लाख र कैलाश गाउँपालिकाबाट १० लाख रकम बराबरको तेल सहयोग गरेर बाटो निर्माण कार्य भैरहेको छ ।

कार्यक्रममा नेपाली कांग्रेस ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तान, भीमफेदी वडा नं. १ का वडा अध्यक्ष श्यामबहादुर बल, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा, बाटो निर्माण समितिका अध्यक्ष नारायण सिं गोले, कांग्रेस मकवानपुरका सूचना प्रमुख सुजन विडारीको उपस्थिति रहेको थियोे ।