अविवाहितहरु प्रेमको प्रभावले, विवाहितहरु प्रेमको अभावले बर्वाद हुन्छन्

पहिले दुई मुटुको मिलनलाई प्रेम भनिन्थ्यो ,अहिले दुई शरिरबिचको मिलाई प्रेम भन्ने भ्रम सिर्जना भएको छ
२०७५ फाल्गुन २,बिहीबार १७:३६

सन्देश थिङ
प्रेम यस्तो चिज हो जसमा संसार अडिएको छ । प्रेम शब्द नै काफी छ । यही प्रेमका लागि मानिस आफ्नो जीवन धरापमा राख्छन् अनि प्रेमकै लागि जीवन बलिदान गर्न पनि पछि हट्दैनन् । किनभने प्रेमको प्रभावले अनेक किसिमका परिवर्तनहरु हुनसक्छन् । प्रेम पाउनकै लागि राम र रावणको बिचमा कयौँ वर्ष युद्ध भएको कथा रामायणमा छ । अनि प्रेमकै लागि महाभारतको युद्ध पनि कयौँ वर्ष चलेको थियो ।

प्रेम यस्तो चिज हो, जुन राम्ररी चिन्न सकेमा हजारौँ खुशीहरु यसैमा भेटिन्छन् अनि जिउने आधार पनि यसैमा छ । प्रेमकै अभावले गर्दा संसार नै अन्धकार देखिन्छ । मानौँ, हजारौँ मान्छेको भिडमा लडाईँ जितेर आएको छोरो आमाको अगाडि झुक्छ किन होला ? किन कि त्यो उसको आमाका लागि मनमा भएको प्रेम र सम्मान हो । आमाको ममताको शक्तिको उदाहरण हो, अनि प्रेममा नै जीवन छ । आमाबुवाले छोराछोरी जन्मेपछि यति धेरै माया किन गर्छन् होला ? सायद छोराछोरीबाट केही पाउने स्वार्थमा नभई उनै छोराछोरीले भविष्यमा सँगै होस्, आफुलाई मायाममता गरोस् वा नगरोस्, आमाबुवाले सदैव सदाबहार प्रेम गरिरहेका हुन्छन् ।

एउटा घरपरिवारभित्र किन प्राय झगडा हुन्छ ? घरमा एकअर्काबिच पक्कै पनि प्रेमको अभाव अनि प्रेमप्रतिको ज्ञानको अभावले नै घरपरिवारमा घरपरिवारमा झगडाको बिउ उम्रन्छ । मान्छेबिच किन झगडा हुन्छ ? किन मानिसहरु वर्षौँसम्म एकअर्कासँग बोल्दैनन् ? अनि किन एकअर्कामाथि दुश्मनी मोल्छन् ? प्रायलाई यसबारेमा थाहा नै हुँदैन । किनभने मान्छेहरु आफुले मात्र धेरै राम्रो गरेको भन्ठान्छन् र अरुले गरेको राम्रो काम प्राय देख्दैनन् । एकअर्कालाई नबुझेरै मान्छेहरु एकअर्काप्रति गलत धारणा बनाउँछन् । प्रेमको गलत अर्थ लागेमा मान्छे पनि गलत हुँदै जान्छन् र अन्तिममा एकअर्कासँग दुश्मनको व्यवहार गर्छन् र पतन हुन्छन् । वास्तवमा प्रेममा भाईरस पसेको जस्तै हुन्छ त्यो सम्बन्ध ।
प्रेम यस्तो चिज हो, जसलाई करोडौँ भाषा र धर्मले रोक्दैन । करोडौँ भाषाभित्र पनि प्रेमले वास गर्छ अनि अनेकौँ धर्मबिचमा पनि यसको आफ्नै अस्तित्व छ । हामीलाई जसरी आफ्नो देश, भाषा र सँस्कृतिको माया लाग्छ त्यसरी नै विश्वमा हरेक देशमा आफ्नो भाषा सँस्कृतिको माया गर्नेे मान्छेहरु हुन्छन् । प्रेमकै कारण मान्छेले धर्म सँस्कृतिलाई विश्वास गर्छन् । अनि विश्वास र प्रेमकै कारण मान्छेले कुनै एक धर्मलाई विश्वास गर्छन् । आफुले अंगालेको धर्मलाई नै उनीहरु प्रेम गर्छन् । प्रेमकै कारणले कसैको धर्म र सँस्कृतिमा हस्तक्षेप भएमा धर्म–धर्म बिच नै विश्वमा युद्ध हुन्छन्, यसको ईतिहास हामीसँगै छ ।
प्रेमकै लागि विश्वमा लाखौँ करोडौँ गीतसँगीतहरु बनेका छन् । मानौँ आफ्नो मान्छेलाई कसैले नराम्रो भन्यो वा नराम्रो नजरले हेर्यो भने तपाईलाई किन रिस उठ्छ ? पक्कै पनि यो तपाईको मान्छेप्रति तपाईको प्रेम हो । वास्तवमा प्रेम अझै पनि जीवन्त छ । कोही मान्छेले कसैले भनेको मान्दै मान्दैन भने सोही मान्छेले आफ्नो मान्छेले भनेको कुरा खुरुखुरु मान्छन् । प्रेम मान्छेको कमजोरी हो भने यही प्रेममा संसारको सबैभन्दा ठूलो शक्ति समेत निहित छ । प्रेमकै लागि मानिसले सबथोक छोड्छन् र प्रेमकै अगाडि झुक्न चाहान्छन् भने प्रेम पाउनकै लागि मान्छे युद्ध पनि गर्न पछि हट्दैनन् । वास्तवमा प्रेम हरेक कुरामा हुनुपर्छ । प्रेममा परेका मान्छे सही बाटो पहिल्याउन नसकेर र आफुले प्रेम गर्ने मान्छे सही नभएर वा आफ्नो प्रेम असफल भएर प्रेममा पागल समेत भएका छन् । उनीहरुको नजरमा संसार र जीन्दगी केही हुँदैन र उनीहरु मृत्यूलाई समेत अंगाल्न पुग्छन् । त्यसैले प्रेम जीवन हो अनि यो जीउने आधार पनि हो ।

प्रेम केबल प्रेमी र प्रेमिकाबिचमा मात्र होईन, सँसार नै मायाले अडेको छ । प्रेम मानव मानवबिच मात्र नभएर अन्य प्राणीहरुमा पनि हुन्छ । माया नै धर्म हो, शक्ति हो अनि माया नै शान्ति हो । माया सम्मान हो अनि विश्वास पनि हो । अहिलेसम्म संसार चलेकै एकअर्काबिचको प्रेमको कारणले गर्दा हो । वास्तवमा यो संसारमा जसले जतिसुकै माया गरेपनि बालापनको जस्तो प्रेम सायद जीवनका अन्य प्रहरमा हुँदैनन् । लाज मानीमानी कोरेर दिएको प्रेमपत्र घण्टौँसम्म शब्द दोहोराई तेहेराई पढेको अनि लुकी लुकी, लजाई लजाई माया लाएको वास्तवमै रोमाञ्चक अनूभूति हो ।

वास्तवमा बालापनमा आफुलाई थोरै मान्छेले चिनेको तर त्यसमध्येमा धेरैले माया गरेको याद हामी सबैसँग छ । उमेर बढ्दै गएपछि धेरै मान्छेले चिनेका छन् तर त्यसमध्येमा थोरैले मात्र हामीलाई प्रेम गरेको अनुभूति हुन्छन् । धेरैजसोले हामीलाई देखावटी माया र खोक्रो आदर्श मात्र देखाईरहेका हुन्छन् । सानोमा त आफुलाई चाहेको कुरा ठूलाले नदिएमा भक्कानिएर रुँदा आमाबुवाले किनेर ल्याईदिनुहुन्थ्यो । उहाँहरुको हरेक कुरामा वास्तविक प्रेम थियो अनि कुरामा प्रेम थियो । तर अहिले केही मात्र साँचो प्रेम र धेरै जसो झुठा र देखावटी मात्र प्रेम छ । तर पनि प्रेम भने अहिलेसम्म जे जतिसुकै भए पनि अमर नै रहीरहेको छ ।

पहिले–पहिले दुई मुटुको मिलनपछि प्रेम युगौँयुग सम्म हुन्थ्यो, अनि त्यसैलाई साँचो प्रेम पनि भनिन्थ्यो तर अहिले दुई शरिरबिचको मिलन हुनुपूर्व प्रेमको सुरुवात हुन्छ अनि शरिरबिचको मिलनपछि प्रेमको अन्त्य पनि भईहाल्छ । आजभोलि यसैलाई मानिसले प्रेम भनेर बुझ्छन् । प्रेम जीवनको सुरुवातदेखि अन्त्यसम्म रहीरहन्छ । यतिमात्र कहाँ हो र ? मृत्यूपश्चात पनि प्रेम अमर रहीरहन्छ र रहीरहेको पनि छ । अहिलेको जमानामा प्रेम फेसन जस्तै बनेको छ । अनि यसैले विकृति पनि फैलाएको छ । अविवाहितहरु प्रेमको प्रभावले बर्वाद हुन्छन् र विवाहितहरु प्रेमको अभावले बर्वाद हुन्छन् । किनभने अविवाहित महिला वा पुरुषहरुको प्रेम कथाहरुमा थोरै मात्र सफल भएका छन् भने धेरैजसोको प्रेम असफल भएको छ ।

अविवाहित मानिसहरु प्रेममा परेपछि आफ्नो पढाई, काम र घरपरिवारलाई समय नदिई वास्ता नै गर्न छोड्छन् । उनीहरुले पढाई पनि बिगार्छन् । काम र पढाईबाट समेत टाढा हुँदै गएपछि उनीहरुको जीवन अन्यौल बन्छ । वास्तवमा अविवाहितहरु यसरी नै बर्वाद हुँदै जान्छन् । त्यस्तै विवाहितहरुको पनि कतिपयको जीवन प्रेममय देखिन्छ भने कतिपयको प्रेमकै अभावले बर्वाद समेत भएका छन् । उदाहरणका लागि विदेशमा गएका युवाहरुको पिडालाई लिन सकिन्छ । श्रीमान वा श्रीमती लामो समयसम्म छुटेर बसेकै कारण प्रेमको अभावले कयौँको जीवन बर्वाद भएको छ ।