राष्ट्रिय परिचय पत्र छपाईको काम देश बाहिर नगर्न सरकारलाई आग्रह

२०७५, २८ माघ सोमबार १७:१५

काठमाडौं २८ माघ । राष्ट्रिय सुरक्षामाथि प्रतिकूल असर नपर्ने गरी राष्ट्रिय परिचय पत्रको व्यवस्था गर्न प्रतिनिधिसभाका सांसदहरुले सरकारसँग माग गरेका छन् ।

संघीय संसदको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले नागरिकको गोपनियताको हक र राष्ट्रिय सुरक्षा प्रतिकूल नहुने गरी राष्ट्रिय परिचयपत्र वितरणको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

सरकारले हाल पाँचथर र सिंहदरबारबाट राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु गरेकोमा त्यसो गर्दा व्यक्तिको गोपनियताको हक र राष्ट्रिय सुरक्षामाथि खलल् आउन नदिन सरकारलाई सचेत रहन पनि सांसद बडुले आग्रह गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद झपट रावलले राष्ट्रिय परिचयपत्र छपाईको काम देश बाहिर नगर्न पनि सरकारलाई सचेत गराएका छन् । देश र नागरिकको सुरक्षासँग सम्बन्धित राष्ट्रिय परिचयपत्र जस्तो संवेदनशील विषय राष्ट्रिय परिचय पत्र छपाईको काम देश बाहिर गर्न नहुने उनको भनाई थियो । सांसद रावलले राष्ट्रिय परिचयपत्र वितरणको काममा हतार नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

सांसद रावलले मुलुकको सूचना बाह्य मुलुकमा पुर्याउने काम हुन नदिने गरी राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धि कानुन निर्माण गर्न पनि सरकारसँग माग गरे । बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहसचिव प्रेमकुमार राईले नागरिकहरुलाई बहुउपयोगी हुने गरी राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु गरिएको बताएका थिए । उनले सरकारले हाल पाँचथर र सिंहदरबारबाट सुरु गरेको राष्ट्रिय परिचयपत्र वितरणको काम देशभर सञ्चालन गर्न लागिएको समेत समितिलाई जानकारी दिए ।