मधेसी जनताको पक्षमा संविधान संशोधन हुन्छ : अध्यक्ष प्रचण्ड

२०७५ माघ २८,सोमबार १६:१६

सिरहा २८ माघ । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताको हक, अधिकारको पक्षमा संविधान संशोधनको लागि लगातार पहल गरिरहेको बताएका छन् ।

सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर–१ महनौरमा निर्मित स्वास्थ्य चौकीको सोमबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले मधेसी जनताको आवश्यकता अनुसार संविधान संशोधन गर्दै जाने भनेर प्रधानमन्त्री केपी ओली, आफुु र उपेन्द्र यादवले हस्ताक्षर गरेको बताए ।
उनले मधेसको विकास निर्माणमा सरकारको ध्यान कम हुनेछ कि भनेर शङ्का नगर्न आग्रह गर्दै मधेसको विकास गरेमात्रै मधेसी जनताको आकाङ्क्षा सम्बोधन गर्न सकिने बताए । ‘नेकपाले मधेशमा पूर्वाधार निर्माणका प्याकेज अगाडि सारेको छ’ उनले भने, ‘तराई मधेसको निम्ति झण्डै तीन अर्ब रुपैयाँको विशेष व्यवस्था भइसकेको छ ।’

सिँचाई र खानेपानी समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयमा कुरा राखेको प्रचण्डको भनाइ छ । ‘अहिले भर्खरै उद्घाटन भएको स्वास्थ्यचौकीमा एमबीबीएस डाक्टरको व्यवस्था होस् भन्ने तपाईंहरुको मागमा म सकारात्मक छु’ अध्यक्ष प्रचण्डले भने, ‘डाक्टरसहितको आवश्यक जनशक्तिका लागि मेरो तर्फबाट तपाईंहरुलाई सहयोग रहनेछ । सिराहा जिल्ला आँप उत्पादनमा नेपालकै अग्रणी जिल्ला हो । यहाँको आँपको माग विश्वभरि छ । सिरहालाई आँपको जोनको रुपमा विकास गर्न पहल गर्नेछु ।’

धानखेतीमा पनि सिरहा उर्वर जिल्ला रहेको बताउँदै उनले यसलाई धानको सुपरजोनको रुपमा विकास गर्न आफ्नो तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । ‘अहिलेको संविधानले शिक्षा,स्वास्थ्य,रोजगारीलाई मौलिक अधिकारका रुपमा राखेको छ । अहिले सरकारले मौलिक अधिकार कार्यान्वयनको प्रकृया सुरु गरेको छ । उपचार नपाएर गरिबीका कारण अब कोही मर्नु पर्नेछैन । गरीबको उपचार सरकारले गर्नेछ । नगरे अदालतमा मुद्दा दिन पाइन्छ ।’
पूर्वाधार विकास, उत्पादन वृद्धि, रोजगारी सृष्टि, निर्यात बढाउने र आयात घटाउने काममा पार्टी र सरकार लागि परेको अध्यक्ष प्रचण्डको भनाई छ ।

रातोपाटीबाट