प्रदेश नं ३ मा भ्रष्टाचारीको कुनै गुञ्जायस छैन : मुख्यमन्त्री पौडेल

२०७५, २८ माघ सोमबार १५:५८

मकवानपुर २८ माघ । ३ नं. प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले भ्रष्टाचार नियन्त्रण अभियान आफैंबाट सुरु गर्न अनुरोध गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औँ वार्षिकोत्सवमा उनले रकमको लेनदेन मात्र भ्रष्टाचार नभई तोकिएको समयभर कार्यालयमा रहेर कार्यसम्पादन नगर्नु पनि भ्रष्टाचार रहेको बताएका हुन् ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकार भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलतासहित प्रस्तुत हुने दाबी गरे । ‘‘हामी भ्रष्टप्रति अत्यन्तै निर्मम हुन्छौँ, प्रदेश नं ३ मा भ्रष्टाचारीको कुनै गुञ्जायस छैन’ उनले भने ।

सो अवसरमा प्रदेश नं ३ का प्रमुख सचिव आनन्दराज ढकालले सबैलाई ऐन नियमको परिधिभित्र रहेर काम गर्न अनुरोध गर्दै हामी सबैजना नीति नियमभित्र बाँधिएका छौँ, ऐनविपरीत कार्य गरे छानबिन र कारवाही हुन सक्दछ भन्नेतर्फ सचेत हुनुपर्नेमा जोड दिए ।