सरकारले ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने

२०७५ माघ २८,सोमबार १५:२०

काठमाडौं २८ माघ । सरकारले ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ गते भव्यताका साथ मनाउने भएको छ । प्रजातन्त्र दिवस मूल समारोह समितिको सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा मूल समारोह समिति गठन गरेको हो ।

फागुन ७ गते सैनिक मंच टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारी प्रमुख अतिथिको रुपमा सहभागी हुनेछिन् भने उपराष्ट्रपति नन्दबहादुर पुन विशेष अतिथिको रुपमा रहने र सो कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस वर्षको प्रजातन्त्र दिवसलाई गर्वका साथ मनाउन लागिएको जानकारी दिए । उनले लोकतन्त्रको मर्म अनुसार काम गर्न सक्ने स्पष्ट नीति, योजना, कार्यक्रम तय गरिएकाले यस वर्षको प्रजातन्त्र दिवसलाई गर्वका साथ मनाउन लागिएको पनि स्पष्ट पारे ।