काठमाडौंमा थपिँदै १८ नयाँ पार्क

२०७५, २८ माघ सोमबार ०७:१६

काठमाडौं जिल्लामा १८ वटा नयाँ पार्क थपिने भएका छन् । काठमाडौं महानगर र आसपासका नगरपालिकामा पार्क थपिने भएका हुन् । काठमाडौं महानगरले आफैँले नौवटा र छिमेकी नगरपालिकाले नौवटा पार्क बनाउने भएका छन् । महानगरले आइतबार नौवटा नगरपालिकालाई एक÷एक करोड रुपैयाँका दरले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । महानगरले कीर्तिपुर, शंखरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बुढानीलकण्ठ, तारकेश्वर, नागार्जुन, चन्द्रागिरि र दक्षिणकाली नगरपालिकासँग सम्झौता गरेको हो । टोखा नगरपालिकाले भने गत २० असारमै पार्क बनाउन आर्थिक सहयोगको रकम लगिसकेको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको एकीकृत विकासका लागि नगरपालिकाबीच एउटै मत भएको बताए । ‘महानगरभित्र गर्नुपर्ने काम धेरै छन् । ती काम गरिरहेका पनि छौँ । तर, छिमेकी नगर समृद्ध नभई महानगर एक्लै समृद्ध हुन सक्दैन,’ आइतबार आयोजित कार्यक्रममा उनले भने, ‘त्यसैले हामी नगर—नगर साझेदारिताबाट अघि बढेका हौँ ।’ उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले काठमाडौंको समग्र विकासमा नगर—नगर साझेदारी कार्यक्रम महŒवपूर्ण हुने विश्वास व्यक्त गरिन् ।

 किन बनेन तीनकुने पार्क ? 
तीनकुनेमा आधुनिक पार्क बनाउने योजना भने अहिलेसम्म योजनामै सीमित बनेको छ । सरकारले तीनकुनेमा हरियालीयुक्त पार्क बनाउने योजना २०५९ सालमै ल्याएको थियो । तर, पटक–पटक चर्किएको मुआब्जा विवादका कारण अहिलेसम्म पार्क निर्माण हुन सकेको छैन । उक्त स्थानभित्र पर्ने २५ रोपनी जग्गा व्यक्तिगत नाममा दर्ता भएको र जग्गाधनीलाई प्रदान गरिने मुआब्जा विवादका कारण पार्क निर्माण कार्य रोकिएको महानगरले जनाएको छ ।

 महानगरमा फिल्मसिटीदेखि चेस पार्कसम्म
महानगरभित्र थप नौवटा पार्क बन्नेछन् । त्यसका लागि काठमाडौं महागनरपलिका सहरी योजना आयोगले डिजाइनसमेत तयार गरिसकेको छ । आयोगका अनुसार केही पार्कको निर्माण सुरु भइसकेको छ । आयोगका अधिकृत सुशील सुवेदीका अनुसार बन्न लागेका पार्कको लागत १२ लाखदेखि आठ करोड रुपैयाँसम्म छ । कामनपा–२१ स्थित लगनटोलमा ‘सिलखाना पार्क’ बनाउन लागिएको छ । राणा शासनकालमा सेनाले हतियार राख्ने गरेको सिलखानाको भवन जीर्ण भएर भत्काइएको र अब सेनासँगको सहयकार्यमा पार्क निर्माण गर्न लागिएको महानगरले जनाएको छ ।

आजको नयाँ पत्रिकामा समाचार छ ।