गाउँपालिकामा मनलाग्दी : आधिकारिक धारणा कस्ले राख्ने हो ?

२०७५ माघ २७,आईतवार १२:५६

मकवानपुर । गाउँपालिकाहरुले आफ्ना कार्यालयको आधिकारिक धारणा को मार्फत् सार्वजनिक गर्ने भन्ने निक्र्यौल नगर्दा अध्यक्ष, उपाध्यक्ष, वडा सदस्य सबैले मनलाग्दी बोल्दै हिड्न थालेपछि यसले अन्यौल सिर्जना गरेको छ ।

गाउँपालिकाभित्र दीर्घकालिन असर पर्ने विषयहरुमा समेत निर्वाचित जति सबैले आफूलाई लागेको कुरा बोल्दै हिड्न थालेका छन् । गाउँपालिकाको धारणा कसले सार्वजनिक गर्ने हो, अहिले पनि अन्यौलै छ ।

सामान्यतः गाउँपालिकाको आधिकारिक धारणा अध्यक्षज्यूले राख्नुहुन्छ, मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम परियारले तु खबरलाई बताए । उनका अनुसार, प्रवक्तानै तोकिएको भएपनि त्यो चलनमा आउन नसकेकाले अध्यक्ष मार्फत् गाउँपालिकाको धारणा सार्वजनिक भइरहेको उनले बताए ।

गाउँपालिकाको धारणा यस्तो हो उस्तो हो भन्दै आफूलाई लागेको कुरा बोल्दै हिड्न थालिएपछि यसले कतिपय ठाउँमा विवाद समेत बढ्दै गइरहेको छ ।

मनहरी गाउँपालिकाको आधिकारिक धारणा पनि अध्यक्षमार्फत् नै प्रवाह हुने गरेको छ ।
यसले गर्दा काम गराईमा एकरुपता हुने र कुनै पनि विषयमा विवाद बढ्दैन ।

गाउँपालिकामा पदाधिकारी र सदस्य सबैले गाउँपालिकाको आधिकारिक धारणा भन्दै व्यक्तिगत धारणा राख्दा त्यसले अन्यौल बढाउने र कार्यसम्पादनमा समस्या हुने देखिन्छ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले भने ।

यसै विषयमा हामीले प्रवक्ता अधिकारीसित गाउँपालिकाको आधिकारिक धारणा कस्ले राख्ने व्यवस्था छ भनी सोधेका थियौँ । उनले अधिकार सम्पन्न स्थानीय सरकार भएकाले आफ्नो कामको व्यवस्थापन उसैले गर्नुपर्ने बताए ।

यसमा गाउँपालिकाले प्रवक्ता तोकेर सूचनाको प्रवाह गर्नु पर्ने अधिकारीले बताए । सबैले राखेका धारणा गाउँपालिकाको आधिकारिक धारणा हुन नसक्ने भन्दै प्रवक्ता अधिकारीले सबै स्थानीय तहमा प्रवक्ता तोकेर मात्रै सूचनाको प्रवाह गर्न मन्त्रालयले छिट्टै परिपत्र गर्ने समेत अधिकारीले बताए ।