बकैया गाउँपालिकामा विद्यालयस्तरीय कविता तथा गजल लेखन प्रतियोगिता

२०७५ माघ २६,शनिबार ११:१२

हेटौंडा, २६ माघ । झरना साहित्यिक परिवारले शुक्रबार बकैया गाउँपालिकामा विद्यालयस्तरीय कविता तथा गजल लेखन प्रतियोगिता आयोजना गरेको छ । महेन्द्र माविको प्राङ्गणमा भएको कार्यक्रममा गाउँपालिकाका ७ वटा विद्यालयका करिब ६० जना विद्यार्थीहरुले प्रतियोगितामा भाग लिएका थिए ।

आगामी फागुनमा हुने झरनाको वार्षिकोत्सव कार्यक्रममा प्रतियोगिताको नतिजा सार्वजनिक तथा पुरस्कार वितरण गरिने बताइएको छ । शुक्रबार नै झरनाले सिर्जनशील नयाँ पुस्ता निर्माण अभियानअन्तर्गत विद्यालयमा बाल समितिसमेत गठन गरेको छ । बकैया गाउँपालिकाभित्रका ७ वटा विद्यालयमा समिति गठन गरिएको झरनाका सचिव चिरन्जिवी लामिछानेले जानकारी दिए ।

महेन्द्र मावि, बुद्ध मावि, प्रभात मावि, जनक मावि, कर्मप्राप्ती मावि, माटोकोरी आधारभूत विद्यालय र बाल भैरव आधारभूत विद्यालयमा समिति गठन गरिएको हो । यसअघि २ वटा विद्यालयमा समिति गठन भइसकेको छ । झरनाका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष उद्धव सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार जनार्दन खनाल, उपाध्यक्ष विश्वनाथ सञ्जेल, सचिव चिरन्जिवी लामिछानेलगायतको सहभागिता रहेको थियो ।

झरनाले आगामी फागुन १७ बाल साहित्य र लोक साहित्यसम्बन्धी कार्यशाला र १८ गते २६ औं वार्षिकोत्सव मनाउँदै छ । उक्त दिन बृहत साहित्यिक गोष्ठी, श्रष्ठा सम्मान तथा कृति विमोचनको कार्यक्रम पनि राखिएको बताइएको छ ।