साहित्यकार सिएम रिमालको कथा ‘जुहारीमा रुमलिएको यो समाज’

२०७५ माघ २६,शनिबार ०७:१७

“बाबा मलाई गृहकार्य सिकाइदिनु न”चार वर्षिय छोरो स्मार्टको मुखबाट आवाज आउनसाथ “भर्खर आएको छु आउन पा‘छैन स्कुलको कुरा । स्कुलमा त्यत्रो पैसा तिरेको छ त उतै सोध्”बाबु अलि कड्किएर बोल्छन् । छोरो अध्याँरो मुख लगाउँदै आमा नजिक गएर बस्छ । आमा भान्सामै व्यस्त हुन्छिन् । “हेल्लो हजुर कता हो ? लु न आज त शुक्रबार पो रहेछ गुड फ्राइडे मनाउनु पर्यो झट्टै आउनुस् त ।” बुबाको मोबाइलको आवाज नजिकै रहेको छोरोले पनि सुनिरहेको थियो । स्मार्टकी आमा, “म बाहिर जानु पर्ने भयो मिर्टिङ छ अलि ढिलो होला खाना खाएर बस्नु है ।” होइन, छोरोले गृहकार्य सिकाइदिनु न भनिरहेको छ तपाईँचाहिँ फेरि कता नि ? आमाको बोलीको कुनै वास्ता नगरी बुबा हतार हतार बाहिर निस्कन्छन् । भित्रैबाटै फेरि, “झट्टै आउनुस् नि छोरोलाई गृहकार्य सिकाइदिनु पर्छ ।” स्मार्टकी आमा चिच्याउँछिन् ।

छोरो र आमाको ङ्यारङ्यारले पनि सारै पिरोल्यो है मलाई त । तिमीहरुको कत्तिको दुःख दिन्छन् हँ छोराछोरीहरुले ? टुप्लुक्क आइपुगेका मात्र के थिए सुरुवात यसैबाट गरे स्मार्टका बाबुले । “के भयो र त्यस्तो ?” पहिलो साथीले सोध्छन् । के हुनु नि भर्खर अफिसबाट के घर पुगेको थिएँ, छोरो कापी तेस्र्याउँदै आउँछ, झनक्क रिस उठ्यो कराइदिएँ नि । “मेरो पनि हिसाबको सिकाइदिनु न भन्दै आइपुगेको थियो । धन्न मैले त ट्युसन पढाउने भाइ राखेको थिएँ र काम लाग्यो ।” दोस्रो साथीले एक प्याक घुट्काउँदै थप्छन् । “अनि मेरो त फोटोकपी किन्नु पर्यो ल्याइदिनु न भन्दै थियो मैले त ला भनेर १ हजार थमाइदिएँ चुप भएर गयो ।” तेस्रो साथी गिलास डटाउँदै कुरामा कुरा थप्छन् । “मानिसको भविष्य वा चरित्र निर्माणका लागि बाल्यकाल नै उपयुक्त समय भएकाले यस अवस्थामा नै व्यक्तित्व निर्माणको जग राख्न जरुरी हुन्छ हामीले । हाम्रो संस्कार उत्तम छ भने छोराछोरीको संस्कार पनि उत्तम नै हुन्छ, भन्ने मलाई लाग्छ है सुयोगका बाबुले बिचैमा जोड्छन् । विद्यालयमा पढ्ने समयभन्दा अरु समयमा हामीले छोराछोरीको पालनपोषण गर्नुमात्र हुँदैन ताकि उनीहरुलाई विभिन्न प्रकारका कुराहरूको जस्तैः माया, ममता, स्नेह, सम्यम, अनुशासन, संस्कार, रीतिरिवाज, चालचलन शुद्ध उच्चारण र विशुद्ध आचार–व्यवहारको शिक्षा दिनु पनि हाम्रो कर्तव्य हो नि ? वातावरणको प्रभाव सोझै उनीहरूमाथि स्वाभाविक नै पर्ने हुँदा मैले त अफिसबाट आउनसाथ छोरोलाई बोलाएर केकेको गृहकार्य छ ? ल लेऊ भन्दै सिकाएँ ।” एउटै कक्षामा पढ्ने स्मार्टको साथी सुयोगको बुबाले हास्दै भन्छन्, उनी केबल स्नायाक्सको साथमा मात्र थिए । सबैले त्यस सुयोगका बुबालाई प्याकको तालमा उल्लीबिल्ली बनाउँछन् ।

सबैजना खुट्टा टेक्न नसक्ने भएर उठे । केही नखानेले बरु सबैलाई गाडीमा हालेर घरसम्म पुर्याईदिए । आफ्ना छोराछोरीको चरित्र वा भविष्य निर्माणमा विद्यालय वा शिक्षकहरूको जति भूमिका हुन्छ त्योभन्दा बढी भूमिका हाम्रो पनि हुन्छ । अनि मात्र छोराछोरीको र विद्यालयको उद्देश्य प्राप्त हुन्छ । सुयोगका बुबा बिचबिचमा थप्दै अगाडि बढ्छन् ।
“बुबा हजुर कति ढिलो आउनुभएको ? हिजो राति अनि के खाएर आउनुभएको त्यसरी ट्वाइलेट पनि पुरै दुर्गन्धित छ त ?” भोलिपल्ट बिहानै छोरो बाबुको नजिकै पुग्छ । बुबा मन्द मुस्कानमा मोबाइलतिरै गफिन्छन् । उसको कुरामा कुनै उत्तर नआएपछि ऊ लुरुलुरु बाहिरिन्छ त्यहाँबाट । ए, उठिसकेको भन्दै सुयोगका बुबा टुप्लुक्क आइपुग्छन् । भर्खर उठेको । कुनै आश्चर्य बोध नै हुँदैन । “अङ्कल मलाई यो सिकाइदिनु न ।” अङकल आउने बित्तिकै छोरो कापी बोकेर आउँछ । ल आऊ, म सिकाइदिन्छु । लगभग १५ मिनेटमा लगभग सबै सिकाइदिन्छन् । “हान् हान् ठोक् ठोक् आयो आयो पछाडिबाट । म यहाँ लुक्छु तँ त्यहाँ गएर बम पनि लिएर आइजो सबैलाई सखाप पार पनि ।” आफ्नै सुरमा बर्बराइरहेका थिए बाबुचाहिँ । अनि आमाचाहिँ नागिन ।

“हेर सुयोगकी आमा, युग बदलिएछ । परिवेश बदलिएछ । पाषाण युग विकासक्रमको सिढीँ चढ्दै कम्प्युटर युगमा परिणत भएछ । मौखिक र व्यावहारिक शिक्षा लिखित शिक्षामा र आश्रमको शिक्षा पक्की भवनमा परिणत भएछ । विद्यार्थीहरू माथिको शैक्षिक बोझ पनि प्रतिस्पर्धात्मक युगअनुरूप बढ्दै गएछ तर अभिभावकको सोच आज पनि बालबालिकालाई विद्यालयमा पठाई दिएपछि कर्तव्य पूरा हुन्छ भन्ने नै छ । अनि आफू जति नै फुर्सद भएपनि कि त मोबाइल कि त टिभी कि त तरलमै रम्नुपर्ने स्थितिले समय विकरालतिर लम्कदै छ ।” सुयोगका बुबा आफ्नी श्रीमतीसँग गफिन्छन् । के भयो र त्यस्तो ? के हुनु क्या त्यही स्मार्टको घरको हालत देखेर अचम्म लाग्छ ।

छोराछोरीको केही मतलब छैन खालि आफ्नै ढङ्गले चल्न खोज्छन् पछि त्यही छोराले वास्ता नगर्दा थाहा पाउँलान् ।
“हेर स्मार्टकी आमा, विद्यालय भनेको एउटा पसल हो र पढाउने गुरुहरु भनेका पसले हुन् । हामीले विद्यालयले मागेको शुल्क तिरेकै छौँ किन हामीले ध्यान दिनु पर्यो र आफ्ना छोराछोरीलाई । उनै पसलेहरुले हेरिहाल्छन् नि । छोराले पनि माग्ने बित्तिकै पैसा दिएकै छौँ जतिपनि । हामीले पनि त मोजमस्ती गर्न पाउनु पर्यो नि । बेलामा नगरेको मोजमस्ती कहिले गर्ने ?” त्यस्तो भनेर आफ्नो सबै जिम्मेवारी सकिन्छ त ?” टिरिङ टिरङ, “हेल्लो कता हो ? आज विद्यालयमा अभिभावक बैठक छ जाने हैन त ?” सुयोगका बुबाले स्मार्टका बुबालाई फोनमा बोलाउँछन् । “के जानु आज अन्तै काम छ तपाईँ जानु केके हुन्छ सबै पछि भन्नुहोला नि ” भन्दै तर्किन्छन् । “शिक्षक र अभिभावकबीचको दूरी यसैकारणले पनि बढ्दै गएको छ । विद्यालयद्वारा राखिएको अभिभावक बैठकमा हाम्रो न्यून उपस्थितिले के प्रमाणित गर्छ भने हामी आफ्ना सन्तानप्रति जागरुक छैनौँ । हामी पैसापैसा भन्दै हिँडिरहेका छौँ पछि त्यही सन्तानका लागि सत्मार्ग देखाउन सकेनौँ भने त्यो पैसाले केही काम गर्दैन । यस्ता बैठकमा भाग लिई हामीले शिक्षकहरूलाई आफ्नो सन्तानको प्रगतिप्रति नियमित ध्यान आकृष्ट गराउन सक्छौँ भने हामीले स्वयम् वहन गर्नुपर्ने दायित्वप्रति पनि विद्यालयले सचेत गराउँछ हामीलाई । यस कारण यस्ता बैठकहरूमा हाम्रो उपस्थिति नितान्त आवश्यक छ त्यसैले म त जान्छु तपाई जेसुकै गर्नुहोस् ।” सुयोगका बुबाले फोन काटिदिन्छन् ।

“बालबालिकाहरूले जो अभिभावक विद्यालयमा उपस्थित हुन गाह्रो मान्छन् त्यस्ता अभिभावकलाई उपेक्षा गर्छन् । उनीहरूमा विपरीत धारणा उत्पन्न हुन थाल्छ । यस कारण जति व्यस्त भएपनि केही समय आफ्ना बालबालिकासँग बिताउनुपर्छ । उनीहरूको कुरालाई रुचि लिएर सुनिदिनुपर्छ र विद्यार्थीहरूलाई चाहिएको आवश्यक सामग्री किन्न पैसा दिनुभन्दा पनि आफैँले उपलब्ध गराइदिनुपर्छ । यसले उसभित्रको हीनभावना नष्ट हुँदै जान्छ र आत्मविश्वास पैदा हुन्छ जसबाट प्रेरित भई उसको भविष्य राम्रो हुन्छ ।” भन्दै बैठक सुरु गर्छन् विद्यालयका प्रधानाध्यापकले ।
आठ कक्षामा पढ्ने हितमानका बुबाले भने– “मेरो उद्देश्य छोरोलाई डाक्टर बनाउनु छ । यसैकारण मैले उसलाई तपाईंको विद्यालमा भर्ना गराएँ, तपाईँहरुले भनेको जति पैसा तिरेकै छु, तर अहिलेसम्म केही पनि सिक्न सकेन । उसको प्रगति होस् भनी दुई–दुईवटा ट्युसन पनि राखिदिएको छु । गृहकार्य पनि निकै कम हुन्छ । अतिरिक्त कुराहरुमा बढी जोड दिइरहेको छ । खै के गर्छ के यस विद्यालयले ? तपाईंको विद्यालयको पढाइ पनि मेरो नजरमा कमजोर हुन थालेको छ । कस्ता शिक्षकहरू राख्नुभएको छ ?” प्रधानाध्यापकले उनको कुराको उत्तरमा एउटा प्रश्न सोधें– “तपाईं बिहान र बेलुका के गर्नुहुन्छ ?” उनले बताए, “म बिहान सात बजे उठ्छु । त्यस उप्रान्त दैनिक क्रिया सम्पन्न गरी अफिस जान्छु । घर फर्केपछि एक कप चिया खान्छु र केही बेर विश्राम पछि घुम्न निस्कन्छु । फर्केपछि टेलिभिजन हेर्छु कहिले फेसबुकमा रमाउँछु र भात खाई सुत्छु ।”

प्रधानाध्यापकले पुनः एउटा प्रश्न गरे –“तपाईंले बिहानको अखबार पढ्न नपाए वा साँझ घर फर्कनासाथ पत्नीले लगत्तै बजारबाट सामान किनेर ल्याउन भनेपछि तपाईंको प्रतिक्रिया कस्तो हुन्छ ?” उनले बीचमैं भने–“यसो भए म कुनै काम नै गर्न सक्दिनँ ।” प्रधानाध्यापकले भने, “मेरो भनाइ पनि तपाईंको छोराप्रति यस्तै छ । तपाईंको त्यो अबोध छोरा जसको स्वभाव नै खेल्नु हो उसलाई तपाईंको तर्फबाट केही समय नदिइनु वा उसले खेल्ने मौका नपाउनु नै तपाईं उसको उद्देश्य प्राप्तिमा बाधक बनिरहनु भएको छ । यस कारण आफ्नो जस्तै उसको भावनालाई पनि बुझिदिनुप¥यो र आफूले चाहेको कुरा पूर्तिका लागि अनावश्यक बोझ लाद्नु कुनै पनि हालतमा उचित हुँदैन । यसकारण विद्यार्थीको दृष्टिकोणलाई पनि सम्झनु प¥यो । ” केही बोलेनन् केबल अनुहारमा हीनताबोधमात्र ।

त्यसो भए हामी गोठालो लागेर हिँढ्ने त अब ? “यसो भन्नुको तात्पर्य त्यो पनि होइन । तर के चाहिँ हो भने प्रत्येक बालबालिकाको बानी र स्वभावमा भिन्नता हुन्छ । केही केटाकेटीहरू कुनै कुरोलाई छिट्टै ग्रहण गर्छन् भने कुनै विस्तारै बुझ्छन् । तसर्थ उनीहरूको गुण जान्नु तपाईँहरुको कर्तव्य हुन जान्छ । उसको गुणलाई तदनुरूप प्रोत्साहित गरियो भने ऊ सजिलै प्रगतिपथमा लम्कन सक्छ ।” प्रधानाध्यापक अर्को कुरा थप्छन् ।

“यसैगरी अर्का अभिभावकले आफ्नो छोराछोरीबारे बताउँदै भने–“जबदेखि मैले घरमा नयाँ टेलिभिजन तथा आइफोन किनेर ल्याएको छु, तबदेखि मेरा छोराछोरीहरू बिग्रन थालेका छन् । कि त टिभी, कि त मोबाइल कि त गेम” उनको यस भनाइप्रति प्रधानाध्यापकले सहमति जनाएनन् । गहिरिएर हेर्ने हो भने के हामी जिम्मेवार छैनौं ? के टेलिभिजन,मोबाइल हटाइदिनासाथ ऊ पढ्न थाल्छ त ? मेरो दृष्टिमा यो कदापि सत्य होइन । त्यस परिवारमा केटाकेटीहरूको प्रत्येक जिज्ञासालाई उसका बुबा, आमा, हजुरबा हजुरआमाले समाधान मात्रै गर्दैनन् उनीहरूलाई मनोरञ्जनको रूपमा ज्ञानवद्र्धक कथाहरू, वीरहरूको गाथाहरूसमेत सुनाइरहेका हुन्छन् जसले एकातिर उनीहरूलाई मनोरञ्जन प्रदान गर्छ भने अर्कोतर्फ आत्मविश्वास जगाउँछ र यसरी कर्तव्यबोधका साथै उसको नैतिक बलमा पनि अप्रत्यक्षरूपमा वृद्धि भइरहेको हुन्छ ।

तपाईँहरु जीवनको जटिलतालाई सहज बनाउन पैसा कमाउने होडमा लागिरहनु भएको छ । यस्तो परिस्थितिमा घरको एक कोठामा टेलिभिजनबाट कार्यक्रम प्रसारित भइरहेको छ, अर्कातिर तपाईँ वा तपाईँकी श्रीमती मोबाइलमै व्यस्त हुने हो भने कुनै बालबालिका त्यसको प्रभावबाट कदापि मुक्त हुन सक्दैनन् । यस कारण तपाईँहरुले जुन नियम आफ्नो केटाकेटीहरूका लागि बनाउनुहुन्छ् त्यसलाई पूर्णरूपले आफूमाथि पनि लागू गर्नुपर्छ र साथसाथै उनीहरुसँगै खेल्ने, पढ्ने र रमाउने आदत निर्माण गर्न सक्नुपर्छ ।” नेपाली शिक्षकले बिचैमा बोल्छन् । के अब हामी उनीहरुसँगै पढ्नु पर्यो त त्यसो भए ? हाम्रो पढ्ने समय बल्ल आयो, “त्यसो पनि भन्न खोजेको होइन । तपाईँहरूले आफ्नो अफिस वा बाहिरको तनाव वा रिसलाई कहिल्यै पनि बालबालिकामाथि प्रकट गर्नुभएन । उनीहरू समक्ष झगडा गर्नुभएन । छोराछोरीहरूबाट कुनै गल्ती भएको छ भने सम्झाउनुपर्छ । यसको विपरीत भएमा उनीहरूमाथि नकारात्मक प्रभाव पर्छ र उनीहरू जिद्दी हुँदै जान्छन् । गल्ती भएपनि विस्तारै गल्तीको आभास गराउनु बुद्धिमानी हुन्छ । यसका साथै तपाईँहरुले के बिर्सनुहुँदैन भने नक्कल गर्नु बाल स्वभाव हो । यसकारण उनीहरूको अगाडि कहिल्यै पनि गलत प्रक्रिया जस्तै जाँड–रक्सी खानु, लोग्ने स्वास्नी झगडा गर्ने, उनीहरुको अगाडि चुरोट तान्नु, उनीहरुलाई पढ भनेर आफू अन्तै ध्यान आदि गर्नुहुँदैन । यसरी आफ्नो बालबालिकाको भविष्यप्रति सचेत भई आफ्नो उद्देश्य प्राप्तिमा पूर्णरूपमा सफल हुन सक्नुहुन्छ ।” परामर्शकी एक शिक्षकले बोलीमा बोली मिसाउँछन् ।

के अब हामी साथीभाइसँग पनि रम्न नपाउनूँ त ? एक अभिभावक हातमा मोबाइल बोक्दै प्रश्न गर्छन् “बदलिँदो समय र परिस्थिति अनुसार चल्नु पर्छ तर सीमा नाँघेर होइन नि । उनीहरूको दिन–प्रतिदिनको मूल्याङकन गर्न शिक्षकहरूद्वारा गृहकार्य पनि दिइएको हुन्छ अनि नगर्दा सामान्य गाली गर्ने कारणले कहिलेकाहीँ विद्यार्थीहरू विद्यालयबाट टाढा हुन खोज्छन् । तसर्थ विद्यालयमा पढाइएको पाठको पुनरावृति तथा पढ्नका लागि घरमा उपयुक्त वातावरण सिर्जना गराइदिनु तपाईँहरूको कर्तव्य हो नि त तर कुनै विद्यार्थीलाई शिक्षकको कुरा नै बढी समझमा आउँछ । यस्तो परिस्थितिमा तपाईँहरूले शिक्षकको सहयोग लिई बालबालिकालाई सम्झाइबुझाई सजिलै प्रगति गराउन सक्छन् ।” गणित शिक्षकले आफ्नो तर्क मिसाउँदा मिसाउँदै उही अभिभावक फोनमा कुरा गर्दै एकछिन ल भनेर बाहिरिन्छन् ।
“विद्यार्थीको प्रगतिमा अर्को बाधक परीक्षा पनि हो । परीक्षाको भयले गर्दा ऊ कुनै पनि कुरालाई सम्झिनुभन्दा बढी रट्नतर्फ ध्यान दिइरहेको हुन्छ किनभने उसलाई के डर हुन्छ भने परीक्षामा राम्रो अङक ल्याएन भने विद्यालय र घर दुवैतर्फबाट गाली खानुपर्छ । यसले गर्दा उसले प्राप्त गर्ने शिक्षाको मौलिकतामा ह्रास आउँदै जान्छ । यस्तो अवस्थामा उसको मानसिक शक्ति कमजोर हुँदै जान्छ । यस कारण उनीहरूलाई परीक्षाको आफ्नो महत्त्व छ तर यो नै सबैथोक होइन भन्ने कुरा सम्झाउने दायित्व घरमा तपाईँहरुकै हो नि ।” प्रशासक प्रमुखले परीक्षाको विषयमा जानकारी गराउँछन् ।

अन्त्यमा, “म यहाँ उपस्थित तपाईँ अभिभावकहरुलाई के भन्न चाहन्छु भने समय–समयमा विद्यालय गई आफ्नो छोराछोरीको प्रगतिबारे शिक्षकहरूसँग परामर्श गर्नुहोस् । उनीहरूको भावना बुझी उनमा आत्मविश्वास जगाउनुहोस् । आफ्नो छोराछोरीको स्वास्थ्यप्रति सचेत रहनुहोस् । उनीहरुका साथीहरूको बानी–बेहोराबारे जानकारी राख्नुहोस् । कहाँ जाँदै छन् कोसँग हिँड्दै छन् ? भन्ने कुरामा निकै सचेत हुनुपर्ने अवस्था छ अचेल । समय–समयमा उसलाई प्रोत्साहित गर्नहोस् र बाहिर घुमाउनु लग्नुहोस् । आफ्नो चाहनालाई जबर्जस्ती उनीहरूमाथि नलाद्नुहोस् । उनीहरूको कुरा ध्यानपूर्वक सुनिदिनुहोस् । घरमा स्नेहसिक्त वातावरण तथा झै–झगडा सिर्जना कायम गर्नुहोस् किनभने विद्यार्थीको बढी समय घरमा नै व्यतीत हुन्छ । यसो गर्न यदि सफल हुनु भयो भने तपाईँहरु आफ्नो लक्ष्यमा शतप्रतिशत सफल हुन सकिन्छ” भन्दै विद्यालयका संयोजकले बैठकलाई सकिएको घोषणा गर्छन् ।

“आजको बैठकबाट धेरै सिक्ने अवसर पाइयो । हामीले त अझ आफ्ना छोराछोरीलाई जति ध्यान दिनुपर्ने हो त्यो गर्न सकेका रहेनछौँ । विद्यालयले दिएको मार्गअनुसार मेरो दायित्यबोधमा अब कमी आउने छैन ।” बैठक सकिएपछि सुयोगका बुबा घरमा गएर आफ्नी श्रीमतीसँग सबै कुरा राख्छन् ।

धेरै समयको अन्तरालपछि सुयोगले आफ्नो पढाइ सकेर एक समाजसेवी बन्छ । उसले आफ्नो परिवार तथा गाउँ, समाज र राष्ट्रलाई सेवा गर्ने उद्देश्यले गाउँमै तल्लीन भएर लाग्छ भने स्मार्टले आफ्नो पढाइलाई बिचैमा छाड्नु पर्दाको पीडाले घोत्लिरहेको हुन्छ । विवाह पश्चात् ऊ घरबाट टाढा हुँदै अन्तमा आफ्ना वृद्धवृद्धा बुबाआमालाई वृद्धाश्रममा लगेर छाडिदिन्छ । बुबाआमासँग पनि कुनै विकल्प नभएकाले पुरानै यादहरुको स्मरणमा मृत्युसँग पौँठेजारी खेल्दै “आफू त आकाशको डुब्नै लागेको जून अहिले हो कि भरे थाहा छैन सुयोग । बेलैमा बुद्धि नपुर्याउँदा यस्तो गति भयो हाम्रो त ।” सुयोगसँग वेदना पोख्छन् । स्मार्टका बुबाआमाले ।