जहाँ सडक दस्तुर उठाईन्छ त्यहिँको बाटोको बिजोग

२०७५, २३ माघ बुधबार १६:५७

मकवानपुर २३ माघ । पूर्वपश्चिम राजमार्ग अन्र्तगतको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ बसामाडीमा सडकमा गुड्ने सवारीसाधनसंग बाटोमा सवारी चलाएबापत दस्तुर संकलन भईरहेको छ ।

दस्तुर संकलनको लागि ठेकेदारका मानिस घुम्ती राखेर जहाँ बसेका छन् त्यहाँकै करिब ४ सय मिटर बाटोको अवस्था भने हरिबिजोक छ ।

सडकमा सवारी गुडाएबापत सडक बोर्ड नेपाललाई तिर्नुपर्ने सो रकम संकलन भईरहेको स्थानको हालत देख्दा जो कसैलाई पनि पैसा तिर्न मन लाग्दैन ।

सद्धे र फराकिलो सडकमा सवारी गुडाउन पाए उक्त दस्तुर तिर्न कसैलाई पनि अप्ठेरो लाग्दैन । तर सवारीदुर्घटनाको उच्च जोखिम रहेको स्थानमै बसेर सडक बोर्ड नेपालले ठेकेदार मार्फत दस्तुर संकलन गरीरहेको छ ।

यसअघि पनि उक्त स्थानमा रातको समयमा धेरैपटक सवारी दुर्घटनाहरु भएका थिए ।

सडक भत्किएर बिजोग छ भने कर संकलन गर्नेहरुले पनि बीचबीचमा ड्रम तेस्र्याएर बाटो झनै साँगुरो बनाइदिएका
छन् ।

यो बिजोग कहिलेसम्म हेर्नुपर्ला भनी हामीले डिभिजन सडक कार्यालय हेटौंडामा सम्पर्क राखेका थियौँ । सो कार्यालयका अनुसार, अब केही दिनभित्रै सो सडक मर्मत गर्ने तयारी भइरहेको छ ।

यही सडक खण्डको एकदुई ठाउँबाहेक अन्यत्र भने सडक मर्मत गरी राम्रो पारिएको छ ।