‘अब १५/२० दिनमा दमकल आउँछ ’ : मेयर महत

२०७५ माघ २३,बुधबार १६:२२

मकवानपुर । हेटौंडा उपमहानगरपालिका मेयर हरिबोल महतले अबको १५/२० दिनभित्र नयाँ दमकल आउने बताएका छन् । तु खबरसँग कुराकानी गर्दै मेयर महतले केही काम बाँकी भएकाले सो पूरा गरी ढिलोमा २० दिनभित्र हेटौंडा उपमहानगरपालिकामा नयाँ दमकल आउने बताएका हुन् ।

एउटा गतिलो दमकल नहुँदा हेटौंडा उपमहानगरपालिकावासीलाई निकै समस्या पर्ने गरेको छ । केही समय अघि हेटौंडाको ओम्याक्स सिनेमा हलमा आगलागी हुँदा यहाँको पुरानो एउटामात्रै दमकलले आगो निभाउन नसकेपछि छिमेकी जिल्लाबाट समेत दमकल मगाइएको थियो ।

अत्यन्त जरुरी रहेको दमकलको राम्रो व्यवस्थापन हुन पनि यतिधेरै समय लाग्नु आश्चर्यको कुरा भएको छ । लागलागी हुने मौसम नजिकिँदै जादा यसको तयारी तत्काल गर्नुपर्ने आवश्यकता देखिएको छ ।

ओम्याक्स सिनेमा हलमा लागो लाग्नु भन्दा अघि पनि तु खबरले हेटौंडामा गतिलो दमकल नभएको समाचार सार्वजनिक गरेको थियो । त्यसपछि पनि दमकल नहुँदा नगरवासीलाई समस्या रहेको समाचार लेखिँदै आएको छ ।

हेटौंडा सिमेन्ट उद्योगले एउटा पुरानो दमकल पनि तत्कालिन नगरपालिकालाई हस्तान्तरण गरेको थियो । तर, त्यो दमकल पनि निकै पुरानो भई जेनतेन मात्र चलिरहेको छ ।

हेटौंडामा दमकल ल्याउने कुरा कहाँ पुग्यो भनी आज मेयर महतलाई तु खबरले जिज्ञासा राखेको थियो । उनले सरकारी काम गर्दा निकै झमेला हु्ने भन्दै अब ढिलोमा २० दिनभित्र दमकल आइपुग्ने बताए ।