तामाङ समुदायको महान पर्व ‘ल्होछार’ की ल्होसार ?

२०७५ माघ २१,सोमबार ०८:५९

सन्देश थिङ

नेपाल बहुजाति, बहुभाषि अनि बहुसँस्कृतिले भरिपूर्ण मुलुक हो । यहाँ विभिन्न जातजाती, भाषा, धर्म र सम्प्रदायका मानिसहरुको बसोबास छ । यसर्थ नेपाललाई विश्वका अन्य मुलुकको तुलनामा भाषा, धर्म लगाएतका विषयमा धनी मानिन्छ । फरक धर्म, जातजातीका मानिसहरु पनि एकआपसमा मिलेर बसेको कुरा विश्वमै नमुनाको रुपमा लिईन्छ । यहाँ एक अर्काको सम्मान र सत्कार हुन्छ ।

यहाँका मानिसहरु विभिन्न धर्म मान्छन् अनि धर्म अनुसारकै आ– आफ्ना तरिकाले चार्डपर्वहरु पनि मनाउँछन् । ती चार्डपर्वहरु मध्येको एक हो तामाङ समुदायले विशेष गरेर मनाउने चाड ‘सोनाम ल्होछार’ । ल्होछार महत्त्वपूर्ण सांस्कृतिक पर्वमात्रै नभई उमेर गणनाको आधार पनि हो । नयाँ वर्षको आगमनसँगै आफ्नो उमेर गणना गर्न यसको प्रयोग हुन्छ । यसका लागि विभिन्न १२ वटा जनावरलाई प्रतीक बनाइन्छ । तामाङ स्रोतका अनुसार तामाङको अर्थ युद्धमा घोडा चढि आउने साहासि लडाकुलाई बुझउँछ । यसले ‘ता’ भनेको घोडा र ‘माङ’ भनेको लँडाकु भन्ने अर्थ बोकेको बुझिन्छ ।

तामाङ जातिको आफ्नै मात्रीभाषा तामाङ भाषा हो । अनि तामाङ जातिको आफ्नै चाडपर्वको रुपमा सोनाम ल्होसारलाई बुझिन्छ । यसलाई तामाङ समुदायले विभिन्न साँस्कृतिक कार्यक्रम गरी, एक आपसमा शुभकामना आदानप्रदान गरी बर्षौदेखि मनाउँदै आएका छन् ।

पछिल्लो समय भने ल्होछारको अवसरमा तामाङ समुदायले विभिन्न सामाजिक कामहरु पनि गर्न थालेका छन् । नयाँ बर्षमा खुशी साटासाट गर्नुपर्छ भन्ने उदेश्यले सामाजिक कामहरु पनि गर्न थालिएको तामाङविद्हरु बताउँछन् । ल्होछारमा तामाङ समुदायले राम्रो कपडा लगाउने, मिठो मसिनो खाना खाने, आफन्त भेट्ने, अनि समुदायका सबै भेला भएर सांकृतिक कार्यक्रम गर्दै शुभकामना आदान प्रदान गर्ने गर्दछन् । यसबर्ष पनि ल्होछारको अवसरमा देशभरीनै विविध कार्यक्रमहरु हुँदैछन् । जसअन्र्तगत मकवानपुरमा पनि यस पर्वलाई महत्वपूर्ण चाडको रुपमा मनाउने तयारी गरिएको छ । हेटौंडामै यही २१ र २२ गते ल्होछार महोत्सवको आयोजना समेत गरिने भएको छ । यसबर्ष ल्होछार २२ गते परेको छ । ल्होछारको दिन मकवानपुरको मनहरी २ भुन्दु«टाँडी, हेटौंडाको रातोमाटे, शिखरपानी मकवानपुरगढी लगाएत मकवानपुरका अन्य स्थानमा ल्होछार विशेष सांस्कृतिक कार्यक्रमहरु हुँदैछन् ।

बोलिचालीको भाषामा ‘ल्होछार’ र ‘ल्होसार’ दुवै प्रयोग गरिन्छ । यसलाई कतिपयले फरक हुन् कि भन्ने बुझाई पनि राखेका हुन्छन् तर वास्तवरमा यी दुवै एउटै हुन् । बोलीचालीको भाषामा आफुलाई सरल लाग्ने शब्द प्रयोग गरिँदै आएको छ ।

‘ल्होसार’ सांस्कृतिक शब्द हो भने ‘ल्होछार’ बोलिचालिको शब्द हो । ल्होछार भन्नाले नायाँबर्ष भन्ने बुझिन्छ । ‘ल्हो’ भन्नाले बर्ष अर्थात साल र ‘छार’ भन्नाले नयाँ भन्ने बुझिन्छ । त्यसैले ‘ल्होछार’ लाई नयाँ बर्ष भनिएको हो ।

ल्होछारमा हरेक एक जनावरको पालो बार्‍ह वर्षपछि मात्रै आउँछ । यसलाई ल्हो–खोरल्हो (वर्ष चक्र) भनिन्छ ।

यो पर्व मान्ने जुनसुकै समुदायका मान्छेले कति वर्ष भयो भनेर सोध्नुको साटो कुन ल्होको हो भनेर सोध्छन् र उमेर पत्ता लाउँछन् । यो सभ्यतासंग जोडेर चन्द्र पात्रोको विकास आजभन्दा २८५५ वर्षअघि महामन्जुश्रीले गरेको मानिन्छ ।

ल्होछारको दिनमा तामाङ समुदायले परम्परागत तरिकाले पुजापाठ गरि साँस्कृतिक महत्वकासाथ खुसियालीका साथ यो चाड मनाउँछन् । नेपालको पहाडि भेगमा बसोवास गर्ने तामाङ समूदाय लगायत उत्तर छिमेकी मुलक चीन र बौद्धमार्गीहरुको घनत्व रहेको क्षेत्रमा यस दिनलाई बिशेष दिनमानि नयाँ वर्ष मनाउने गरिन्छ ।

वि.स २०६४ सालअघि सोनाम ल्होछारलाई नेपाल सरकारले सार्वजनिक विदा दिंदै आएको थियो । ल्होछारमा विदा पाउँदा यस पर्वमा थप रौनकता देखिन्थ्यो । तर पछिल्लो समय सरकारले ल्होछारमा विदा दिने विषयमा आनाकानी गर्ने गरेको छ । यो बर्ष पनि नेपाल सरकारले देशैभर सार्वजनिक विदा दिएको भने छैन तर केहि प्रदेशहरुमा प्रदेश सरकारले प्रदेश मातहतका निकायहरु र त्यय क्षेत्रका मानिसहरुलाई सार्वजनिक विदा भने दिएका छन् । प्रदेश नम्बर ३ ले पनि यस प्रदेशमा ल्होछारको दिन सार्वजनिक विदा दिएको छ ।

गुरुङले मनाउने ल्होछारलाई ‘तोला’ ल्होछार, शेर्पा र भोटे जाती लगायतले मनाउने ल्होछारलाई ‘ग्याल्पो’ ल्होछार , तामाङ लगायतका जातिले मनाउनेलाई ‘सोनाम’ ल्होछार भनेर बुझिन्छ ।

‘सोनाम’ ल्होछार नेपाल सहितका अन्य मुलुकहरु चिन , कोरियन , सिङ्गापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस, म्यान्मार, जापान लगायतका देशमा पनि मनाईने गरेको तामाङ स्रोतको जानकारी छ । नेपालमा भने यस पर्वलाई विशेष गरी तामाङ समुदायले मनाउने गरेको स्रोतको दाबी छ ।