वित्तिय साक्षरताले बचत बानीको विकास

२०७५ माघ २०,आईतवार ११:३६

मकवानपुर २० माघ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १, धियाल रजुवाकी समुना लोप्चनले आफ्ना घरको आम्दानी तथा खर्चको हिसाब राखेकी छिन् । वर्षभरी घरमा हुने आम्दानी र वर्षभर हुने विभिन्न शिर्षकका खर्चको विश्लेषण उनले गरेकी हुन् । घरमा हुने आम्दानी तथा खर्चको हिसाब निकालि रहँदा आम्दानी भन्दा बढी खर्च हुने देखिएपछि उनले आम्दानी भन्दा खर्च जहिल्यै कम गर्नुपर्ने महसुस गरिन् । र, उनी अहिले फजुल खर्च रोकेर बचत गर्न लागिपरेकी छिन् । आम्दानीबाट छुट्याइएको केही रकम उनले अहिले जागरण महिला समूहमार्फत मिथिला लघुवित्त फाइनान्समा उनले मासिक रुपमा बचत गर्न थालेकी छिन् । एक महिनासम्म वित्तिय साक्षरतामा सहभागी बनेपछि उनमा फजुल खर्च रोक्नुपर्ने र बचत गर्नुपर्ने भावना जागृत भएको हो ।

बाल कल्याण समाज मकवानपुरले मर्सिकोर नेपालसंगको सहकार्यमा मकवानपुरको बकैया गाउँपालिकामा सञ्चालन गरिरहेको संकटासन्न घरधुरीहरुका लागि भूकम्पीय पुनर्लाभ (सर्भ) परियोजना अन्तर्गत वित्तिय साक्षरता कक्षामा सहभागी बनेपछि समुनामा वित्तिय व्यवस्थापन सम्बन्धि ज्ञान बढेको हो । एक महिनासम्म वित्तिय साक्षरतामा सहभागी बनेकी उनी आम्दानीबाट प्राप्त रकम पहिले बचतका लागि छुट्टाएर अनि मात्र आवश्यक खर्च गर्नुपर्ने बताउँछिन् । ‘विगतमा आफूसंग भएको पैसा सबै खर्च गर्ने गरिन्थ्यो ।’ उनी भन्छिन्, ‘तर आवश्यक खर्च गर्नुभन्दा पहिले आम्दानीको अंश बचतका लागि छुट्टाइहाल्नुपर्दो रहेछ ।’

समुना मात्र होइन उनीसहित १९ जना गृहिणी एक महिनासम्म त्यस टोलमा सञ्चालित वित्तिय साक्षरता कक्षामा सहभागी भए । कक्षामा सहभागी बनेकाहरु वित्तिय साक्षरताले आफूहरुलाई मितव्ययी बन्न सिकाएको बताउँछन् । ‘घरको आम्दानी यति अनि खर्च यति भनेर हिसाब कहिल्यै निकालेको थिईंन । तर कक्षामा आम्दानी खर्चको हिसाबसहित छलफल गर्दा अब त बचतका लागि नसोची भएन भन्ने लाग्यो ।’ साक्षरता कक्षाम सहभागी रजुवाकै ललीमाया स्याङतान घिसिङ भन्छिन्,‘म त अब हरेक महिना घरमा आम्दानी तथा खर्चको हिसाब राख्छु ।’ कक्षामा सहभागी स्थानीय सुनीता लो भन्छिन्, ‘पनि जसरी व्यापार–व्यवसाय गर्दा आम्दानी खर्चको प्रष्ट हिसाब राख्ने गरिन्छ, हामीले घर चलाउँदा पनि आम्दानी र खर्चको हिसाब राख्नुपर्दो रहेछ भन्ने महसुस वित्तिय साक्षरता गरायो ।’

वित्तिय साक्षरता कक्षामा ५० वर्षभन्दा माथि उमेर समूहका पनि सहभागी बनेको पाइएको छ । बकैया गाउँपालिका वडा नम्बर ३, चम्पाखहरेकी ५० वर्षिया विष्णुमाया भोम्जन आर्थिक बचत गर्नु भनेको बुढेशकालको साहारा रहेछ भन्ने कुरा वित्तिय साक्षरताबाट सिकेको बताउँछिन् । ‘पैसा बचत गरेर राख्न सकियो भने त्यही पैसा बुढेशकालका लागि सहारा बन्छ ।’ उनी भन्छिन्,‘आफूसंग जति आम्दानी हुन्छ त्यसलाई बचत गरियो भने आपत परेको बेलामा काम लाग्छ ।’

चम्पाखहरेमा उनी सहित २२ जना वित्तिय साक्षरता कक्षामा सहभागी बनेका थिए । साक्षरता कक्षामा बचत, बिमा, आम्दानी तथा खर्चको हिसाब, व्यवसायिक योजना निर्माण लगायतका विषयको छलफलमा सहभागी बनेका उनीहरुलाई यस प्रकारको वित्तिय साक्षरता आफूहरुले पहिल्यै पाउँनुपर्नेमा ढिला भयो भन्ने लागेको छ । बचत गर्दा औपचारिक रुपमा सरकारी निकायमा दर्ता भएको संस्थामा गर्नुपर्ने जानकारी वित्तिय साक्षरता कक्षामा पाएपछि आफूहरुले सञ्चालन गरिरहेको बचत समूहमा बचत राख्दा जोखिम हुनसक्ने भन्दै अब सचेत रहने बताए । कतै आबद्घ नभएको उनीहरुको बचत समूहसंग हाल ३० हजार रुपिया बचत छ । त्यसलाई आलोपालो ब्याजमा चलाइरहेकोमा अब विश्वसनियता तथा कानूनी रुपमा पनि बलियो गरी बचत सुरक्षामा लागिपर्ने उनीहरुको योजना छ । यसैले वित्तिय साक्षरतामा सहभागी बनेका मध्ये १६ जना स्थानीय सहयात्री बचत तथा ऋण सहकारी संस्थामा आबद्घ भएका छन् ।

वित्तिय साक्षरतामा सहभागी बकैया ९, शिखरपुर गोठडाँडाकी ४५ वर्षिया कृष्णमाया थापा फजुल खर्च घटाएर बच गर्दा दशैं, तिहार जस्ता महत्पूर्ण पर्व मनाउँन ऋण गर्नु नपर्ने कुरा आपूmले सिकेको बताउँछिन् । गोठडाँडामा सञ्चालित साक्षरता कक्षामा उनी सहित २२ जना सहभागी बनेका थिए । महिनासम्म वित्तिय साक्षरताका विविध पक्षबारे सहजकर्ता लक्ष्मी भ्लोन वाइवासंग छलफल गरेका उनीहरुमध्ये १६ जना ‘सगरमाथा बचत समूह’ नामक समूह गठन गर्दै स्थानीय हरियाली स्वाबलम्बन बचत तथा ऋण सहकारीमा आबद्घ भए । सहकारीमा आबद्घ भएकाहरु अहिले मासिक बचत गर्न थालेका छन् । बचतलाई निन्तरता दिँदा बचत रकम बढ्दै जाने र पछि व्यवसायिक रुपमा कुनै उद्यम गर्नुपरेमा आफू आबद्घ सहकारीबाट ऋण लिन सकिने साक्षरतामा सहभागी स्थानीय ४७ वर्षिया पवित्रा घिसिङ बताउँछिन् ।

बकैया गाउँपालिकाको साविक गाविस–छतिवन, शिखरपुर, धियाल, ठिंगन र मन्थलीको टोलटोलमा स्थानीय सहकारीसंगको सहकार्यमा वित्तिय साक्षरता कक्षा सञ्चालन भइरहेको हो । कक्षामा सहभागी भएका लागि मात्र वित्तिय साक्षरता कार्यक्रम प्रभावकारी बनिरहेको छैन की स्थानीय सहकारीमा सदस्य वृद्घिका लागि पनि सहजता भएको छ । बकैया ३, हात्तिसुडेस्थित सहयात्री बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सिताराम दहाल वित्तिय साक्षरता सञ्चालन पनि आफ्नो सहकारीमा सदस्य बढ्दो क्रममा रहेको बताउँछन् । सुरुमा २ सय ३८ जना शेयर सदस्य रहेको सहकारीमा वित्तिय साक्षरताका कारण हाल ६ सय २९ जना छन् । सहकारीमा सदस्य थपिने क्रम रहेको अध्यक्ष दहाल बताउँछन् । ‘गाउँमा सहकारी शिक्षा आवश्यकता रहेको बेला सहकारीले आफ्नै खर्चमा टोलटोलमा सहकारी शिक्षा सञ्चालन गर्ने योजना बनाइरहेका थियौं ।’ अध्यक्ष दहाल भन्छन्, ‘हामीले योजना बनाइरहँदा मर्सिकोर र बालकल्याणले साक्षरता कक्षा सञ्चालनमा ल्याएपछि हामीलाई प्रत्यक्ष फाइदा पुगेको छ ।’

अध्यक्ष दहालका अनुसार वित्तिय साक्षरतामा सहभागी बनेपछि सहकारीका सदस्यमा पनि नियमित बचत गर्ने, ऋण लिने र व्यवसायिक रुपमा लागिपर्ने बानीको विकास गराएको छ ।
गाउँपालिकाको छतिवनस्थित सहयात्री बचत तथा ऋण सहकारी संस्था, शिखरपुरस्थित हरियाली स्वाबलम्बन बचत तथा ऋण सहकारी संस्था, धियालस्थित सबल महिला कृषि सहकारी संस्था,ठिङ्गनस्थित आदर्श महिला बचत तथा ऋण सहकारी संस्था र मन्थलीस्थित सौभाग्य महिला बचत तथा ऋण सहकारी संस्थामार्फत अहिले टोलटोलमा वित्तिय साक्षरता अभियान सञ्चालन भइरहेको छ ।

छतिवनमा १४, शिखरपुरमा ७, धियालमा १४, ठिङ्गनमा १४ र मन्थलीमा ७ वटा कक्षा सञ्चालनका लागि स्थानीय सहकारीसंग भएको सम्झौता अनुसार अहिले बकैया गाउँपालिकाको टोलटोलमा वित्तिय साक्षरता अभियान सञ्चालन गरिएको बाल कल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाले बताए् । विगतमा छतिवनमा मात्र सञ्चालन गरिएको साक्षरता कार्यक्रम हाल गाउँपालिकाभर सञ्चालन गरिएपछि यसको प्रभावकारिता थप बढेको आफूले पाएको जिल्ला कार्यक्रम संयोजक खतिवडाको भनाई रहेको छ ।

सर्भ परियोजना संयोजक रामप्रसाद दहाल विगतमा सञ्चालन गरिएको कार्यक्रमको प्रभावका कारण मानिसमा आम्दानी खर्चको हिसाब राख्ने बानीको विकास भएको, बचत गर्नुपर्ने र उद्यमशील बन्नुपर्छ भन्ने भावना विकास भएकाले पुन : साक्षरता अभियानले निरन्तरता पाएको बताउँछन् । परियोजना सञ्चालनका लागि आर्थिक सहयोग गर्ने मर्सिकोर नेपालका बरिष्ठ परियोजना अधिकृत हेमराज भट्ट बकैया गाउँपालिकाको टोलटोलमा सञ्चालन भइरहेको वित्तिय साक्षरता अभियान प्रभावकारी बन्दा आफूहरुलाई खुशी लागेको बताउँछन् । ‘गाउँगाउँमा सञ्चालित साक्षरताका कारण मानिस फजुल खर्च गर्ने बानी रोकेर आम्दानी बढाउन अग्रसर भएका छन् ।’ भट्ट भन्छन्, ‘परियोजना सफल हुँदा हामी पनि खुशी छौं ।’