श्रीलङ्कामा डेंगुका कारण दुईको मृत्यु

२०७५ माघ १५,मंगलवार १३:४४

कोलम्बो, १५ माघ । श्रीलङ्कामा डेंगुका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अरु तीन हजार ७०० भन्दा बढी प्रभावित भएका छन् ।

यही जनवरीको पहिलो तीन हप्तामा देशभरी फैलिएको डेंगुबाट प्रभावितहरुको विवरण अधिकारीहरुले मङ्गलबार सार्वजनिक गरेका हुन् ।

इपिडिमियोलोजी इकाईले गत शुक्रबारसम्ममा तीन हजार ७४३ जनामा डेंगुको सङ्क्रमण देखिएको जनाएको छ । प्रभावितमध्ये सबैभन्दा धेरै राजधानी कोलम्बोका भेटिएका छन् । त्यसपछि जाफ्ना र गम्पाहमा धेरै बिरामी रहेको अधिकारीहरुले बताएका छन् ।

गत वर्ष पनि श्रीलङ्कामा डेंगुका कारण ५० भन्दा बढीको मृत्यु भएको थियो भने ४८ हजार भन्दा बढी प्रभावित भएका थिए ।